Listen LIVE

नेपाल पत्रकार महासंघ बाँकेको 'नेपालगञ्ज घोषणापत्र' जारी

नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ वार्षिक साधारणसभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्दै विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै 'नेपालगञ्ज घोषणापत्र–२०८३' जारी गरेको छ ।

घोषणापत्रमा बाँकेमा हुने विद्युत अनियमितताका कारण सञ्चारमाध्यम सञ्चालनमा समस्या परेको उल्लेख गर्दै नियमित विद्युत आपूर्तिको व्यवस्था गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरिएको छ । पत्रकार र सञ्चारमाध्यममाथि हुने आक्रमण, धम्की तथा त्रासका घटनाको भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।

त्यस्तै, सरकारी विज्ञापन निजी तथा सामुदायिक मिडियालाई समानुपातिक रूपमा उपलब्ध गराउन माग गरिएको छ । सामाजिक सञ्जाल र मूलधारका मिडियाबीचको भिन्नता बुझेर मात्र टिप्पणी गर्न राज्यका निकाय, राजनीतिक दल र सामाजिक अगुवाहरूलाई ध्यानाकर्षण गराइएको छ ।

घोषणापत्रमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्य, तथ्य र सन्तुलित पत्रकारितामा जोड दिइएको छ । स्थानीय तहका मिडिया प्रवद्र्धन कार्यक्रम पारदर्शी बनाउन तथा स्थानीय सञ्चारमाध्यमको दिगोपनका लागि सञ्चार नीति कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

साधारणसभामा पुरस्कृत पत्रकार तथा सञ्चार संस्थालाई बधाई ज्ञापन गर्दै खोजमूलक पत्रकारिताको सफलताको कामना गरिएको छ । साथै, नेपाल पत्रकार महासंघ बाँकेका केन्द्रीय परिषद् सदस्य खम्बप्रसाद पुनकी आमा नदी मगर्नीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

घोषणापत्रको अन्त्यमा साधारणसभा सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया