Listen LIVE

बाँकेमा बकर इद धुमधामका साथ मनाइँदै

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा विभिन्न धार्मिक कार्यक्रमका साथ बिहीबार धुमधामले मनाइँदैछ । त्याग, बलिदान र कुर्बानीको पर्वका रूपमा चिनिने यो पर्व तीन दिनसम्म मनाइन्छ ।

नेपालगञ्जस्थित मुख्य इदगाहमा सामूहिक नमाजका लागि बिहानैदेखि नेपालगञ्ज र आसपासका क्षेत्रबाट ठुलो सङ्ख्यामा मुस्लिम समुदाय पुगेका थिए । इदगाहभित्र ठाउँ अपुग भएपछि धेरैले विपी चोक आसपास सडकमै नमाज पढेका थिए ।

इदगाहमा सामूहिक नमाज पढेर सुरु भएको पर्व तीन दिनसम्म खसी, भेडा, दुम्बा, राँगा, भैँसीलगायत जनावरको कुर्बानी (हलाल) गरी तेस्रो दिन समापन गरिन्छ । धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीले यस पर्वको विशेष महत्त्व रहेको बताए ।

नमाजपछि मुलुकमा धार्मिक सद्भाव, आर्थिक विकास, शान्ति र अमनचैनको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो ।

इदगाहमा नमाजका लागि पुगेका पूर्वमन्त्री तथा बाँके–२ का सङ्घीय सांसद मोहम्मद इस्तियाक राईले धार्मिक र सामाजिक सद्भावलाई सुदृढ गर्दै देशको आर्थिक अवस्था बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

बकर इदमा कुर्बानी दिने परम्परा अनुसार क्षमता भएका मुस्लिम समुदायले घरघरमै खसी, भेडा, दुम्बा, राँगा, भैँसीलगायतका जनावरको कुर्बानी दिने गरेका छन् ।

मौलाना मन्जरीका अनुसार साना जनावर -खसी, भेडा, दुम्बा) एक जनाको नाममा कुर्बानी गरिन्छ भने राँगा, भैँसी, ऊँटजस्ता ठुलो जनावरमा सात जनासम्म सहभागी हुनसक्ने परम्परा छ ।

कुर्बानीपछि मासुलाई तीन भागमा विभाजन गरिन्छ, एक भाग गरिबलाई, एक भाग छरछिमेकलाई र एक भाग घरपरिवारका लागि राखिन्छ ।

इस्लाम धर्मअनुसार जससँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी बराबरको सम्पत्ति छ र ऋण छैन भने उसले कुर्बानी गर्नुपर्ने धार्मिक नियम रहेको छ ।

तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन बिहीबार विभिन्न स्थानमा इद मिलन कार्यक्रम गरी सेवईलगायत परिकार खाने–खुवाउने गरिएको नेपालगञ्जका मुस्लिम अगुवा शकील जसगढले जानकारी दिए ।

प्रतिक्रिया