नेपालगञ्ज : पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जसँग जोडिएका डुडुवालाई विकासको दृष्टिले पछाडि परेको बताउँदै यसलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।
नेकपा एमालेतर्फ बाँके–२ का उम्मेदवार राईले बाँकेको डुडुवामा आयोजित चुनावी कोणसभामा सम्बोधन गर्दै नेपालगञ्ज–डुडुवा ‘कनेक्टिभिटी’ यसपटक आफ्नो विशेष प्राथमिकता भएको बताए ।
पूर्वमन्त्री राईले भने, “विकासको दृष्टिले नेपालगञ्जभन्दा डुडुवा धेरै पछाडि छ। अब बिगत जस्तो हुँदैन, डुडुवा र नेपालगञ्जसँगसँगै अगाडि बढ्ने छन् ।”
उनले केही दिनअघि सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा पनि पूर्वाधार अभाव झेलिरहेको डुडुवा गाउँपालिकालाई पूर्वाधार सम्पन्न बनाउने विषयलाई विशेष महत्त्व दिएको उल्लेख गरे ।
पूर्वाधार मन्त्री हुँदा छोटो समयका लागि डुडुवा क्षेत्रका सडक र पुल निर्माणका थुप्रै योजना पारित गराइएको र तीमध्ये केही योजना पुरा भइसकेको, केही निर्माणको चरणमा रहेको उनले जानकारी दिए । “घरदैलोमा जाँदा ती योजनाहरु देख्दा अतिनै खुसी महसुस हुन्छ,” राईले भने ।
बाँके–२ बाट एमालेका उम्मेदवार राईले वितेका तीन वर्षमा जनतामा चेत आएको र अब फेरी त्यस्तो अवस्था नहोस भन्ने चाहना रहेको बताए ।
पूर्वमन्त्री राईले समुदायगत विविधता बाँकेको निर्वाचन क्षेत्र नं. २ को महत्त्वपूर्ण परिचय भएको उल्लेख गर्दै, विविधताभित्र निहित एकताको भाव र खुसहाल जीवनको चाहले सबै नेपालीलाई एकतामा बाँधेको बताए ।
डुडुवा कम्दीका स्थानीय सोहन यादवले भने, “घरदैलोमा डुडुवा पुग्ने हरेक उम्मेदवारसँग जनताले प्रश्न गर्छन् – नेपालगञ्ज र डुडुवा एउटै निर्वाचन क्षेत्रमा भए पनि विकासमा यति फरक किन ?”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार