नेपालगञ्ज : बाँकेका विभिन्न पानी जम्ने खाल्डा, नाला, तलाउ तथा जलीय कुण्डमा पाइएका जङ्गली धानको प्रजातिको पहिचान भएको छ । बाँकेका विभिन्न स्थानमा छरिएर आफैँ उम्रिएका जङ्गली धानमध्ये यहाँ दुई प्रजातिका धान फेला परेका हुन् ।
नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको अनुवांशिक श्रोत केन्द्र खुमलटारका बाली प्रजनन् विज्ञ डा.मुकुन्द भट्टराईले बाँकेमा ‘ओरिजा निभारा’ र ‘ओरिजा रुफिपोगन’ गरी दुई प्रजाति फेला परेको बताए । उनले यी प्रजाति नेपालका अन्य ठाउँहरूमा पाइएका र बाँकेमा पनि यिनै प्रजाति पाइएको बताए ।
डा. भट्टराईले बाँके जिल्लाको कोहलपुरलगायतका स्थानमा स्थलगत अवलोकन गर्दै नमुना सङ्कलन गरेका छन् । निभारा प्रजाति सतही पानी वा डेढ मिटरसम्मको पानीमा उम्रिने र रुफिपोगन भने गहिरा ताल–पोखरीमा पाइने बताए ।
“हामी अहिले पश्चिम नेपालका बाँकेसहितका केही जिल्लामा प्राकृतिक रूपमा उम्रिएका जङ्गली धानको संरक्षण र प्रयोगबारे अध्ययनमा छौँ । बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, रूपन्देही र पाल्पामा पाइने जङ्गली धानको प्रजाति, इतिहास र विशेषताबारे अनुसन्धान अघि बढाउन प्रयत्न गरिरहेका छौँ,” डा. भट्टराईले भने, “कैलालीमा १५ वर्षअघि अध्ययन गर्दा पाइएका जङ्गली धान ८० प्रतिशत लोप भइसकेका छन्, बाँकेमा दुई प्रजाति पाइयो, अब कपिलवस्तु, रूपन्देही र पाल्पासम्म जाने कार्यक्रम छ ।”
उनले प्रायः गरेर नेपालमा पत्ता लागेका जङ्गली धानहरू पानी जम्ने ठाउँ, नाला, ताल, तलैया, जलीय कुण्डमा रहे पनि ग्रानुलेटा प्रजाति भने सुक्खा भिरालो ठाउँमा पनि पाइने गरेको र पाल्पामा पनि यसबारेमा जानकारी आएको हुँदा त्यहाँ पनि जानलागेको उल्लेख गरे ।
डा. भट्टराईका अनुसार जङ्गली धानमा डुबान सहने, रोगकिरा प्रतिरोध गर्ने, असिना पर्दा कम क्षति हुने, फट्याङ्ग्राले नखानेजस्ता विशेष गुण हुन्छन् । यी गुणलाई सामान्य धान वा अन्य अन्नबालीमा सारेर नयाँ प्रजाति विकास गर्न सकिन्छ । उनले बिउको डिएनए प्रोपाइलिङ गर्नका लागि कैलालीबाट १० वटा र बाँकेबाट १२ वटा नमुना सङ्कलन गरिएको जानकारी दिए ।
“हामीले बाँकेका जनप्रतिनिधि, किसान, सञ्चारकर्मी लगायतका सरोकारवाला पक्षसँग अन्तक्र्रिया कार्यक्रम राख्ने योजना बनाएका थियौँ, यसका बारेमा समुदाय सचेत हुनु जरुरी छ, समुदायस्तरकाटै यसको संरक्षण हुनसके दीर्घकालीनरूपमा बचाउन सकिन्छ, तर देशको प्रतिकुल अवस्थाका कारण यो सम्भव भएन, पछि फेरि जानकारीमूलक कार्यक्रम गर्ने छौँ,” उनले भने ।
बाँकेमा भने कीट संरक्षण अभियन्ता एवम् सामुदायिक जीन बैङ्क गाभर भ्यालीका अध्यक्षसमेत रहेका कोहलपुर नगरपालिकाका स्थानीय पुरमल बस्नेतले जङ्गली धानका बारेमा संरक्षण, समन्वय, पहिचानको अभियान सञ्चालन गरेका हुन् । जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानलाई कसरी संरक्षण र संवर्धन गर्न सकिन्छ भनेर यसलाई जोगाउन आफू लागिरहेको उनी बताउँछन् ।
उनले स्थानीय घरेलु प्रविधि प्रयोग गरेर यसको बिउ संरक्षण गर्नका लागि शुरुवात गरेका छन् । घरमा प्रयोग गरिने झुलले बाला बाँधेर उनले पहिचान गर्नका लागि बिउ जोगाउने कोसिस गरेको बताए । “कोहलपुरलगायत जिल्लाका विभिन्न स्थानहरूमा रहेका पानीका खाल्डाहरूमा प्रशस्तै जङ्गली धान छ, मैले सम्बन्धित सरोकारवालाको पनि ध्यानाकर्षण गराएको छु, अहिले धान पाक्ने अवस्थामा छ, बिउ जोगाउनका लागि झुलले बाला बाँधेर प्रयास गरिरहेको छु, जीन बैङ्कबाट आउनुभएको टोलीले उक्त बिउ लैजानुभएको छ भने दुई प्रजाति फेला परेको छ ।”
“यो धानको गज्जबको विशेषता रहेछ, पाक्दै गर्ने, झर्दै गर्ने, उम्रिँदै गर्ने, मूल रुखबाटै हाङ्गा पलाउने, फेरि त्यसैबाट बाला पलाउने, पानीभित्र गएको बिउ अर्को वर्ष फेरि उम्रिँने, यसलाई जसरी हुन्छ जोगाउनुपर्छ, जङ्गली धान नेपालमा पाइनु भनेको सबै धानको मूल बिउ नेपालबाट नै उत्पादन भएको भन्ने जनाउँछ,” उनले भने, “यसको जैविक विविधतामा ठुलो भूमिका छ, मैले समुदायमा जनचेतना जगाउनुका साथै सुरक्षा, संरक्षण, प्रवर्धन गर्ने तथा तालतलैया भएको ठाउँमा यसको बेर्ना सारेर यसलाई जोगाउनुपर्छ भनेर लागेको छु, स्थानीय सरकार र राज्यले यसमा गम्भीर चासो देखाउन जरुरी छ ।”
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय जीन बैङ्कका प्रमुख डा. बालकृष्ण जोशीका अनुसार जङ्गली धान नेपालमा पाइनु भनेको धानको उत्पत्ति नेपालमा भएको हो भन्ने कुराको पुष्टि हुनु हो । जति पनि रैथाने धान छ त्यसको पुर्खा जङ्गली धान भएको उनी बताउँछन् । “यो धान नेपालका तराईका जलीय कुण्ड क्षेत्रमा पाइन्छ, पानी जम्ने तालतलैयामा यो हुने गर्दछ, हालसम्म पाँचवटा प्रजातिका पहिचान र नामाकरणसमेत भइसकेको छ, पहिचान भएका धानको बिउ, हाङ्गाहरू जीन बैङ्कमा सुरक्षित छन्, २५ वर्षअघि सन् २००० बाटै हामीले जङ्गली धानका बारेमा अनुसन्धान सुरु गरेका थियौँ,” डा. जोशीले भने ।
उनका अनुसार नेपालमा ओरिजा निभारा, ओरिजा रुफिपोगन, ओरिजा ग्रानुलेटा, ओरिजा अफिसिनालिज् र ओरिजा माइनुटा गरी पाँच प्रजातिका जङ्गली धानको पहिचान र नामाकरण भएको हो । नेपालमै उत्पत्ति भएका कारण यी धानहरू किसानले सदियौँदेखि चिन्दै आएको तर वैज्ञानिक हिसाबले करिब सन् १९६० तिरबाट पहिचान सुरु भएको उनले बताए । उनले विश्वमा हालसम्म जङ्गली धानका २०–२२ वटा प्रजाति पत्ता लागिसके पनि नेपालमा भने पाँच वटा मात्र प्रजाति पत्ता लागेको जानकारी दिए ।
केही वर्ष अघिसम्म देशैभरका विभिन्न स्थानहरूमा प्रशस्त मात्रामा पाइने जङ्गली धान हाल भने लोप हुँदै गइरहेको सम्बन्धित विज्ञहरूले बताइरहँदा समुदास्तरबाटै यसलाई जोगाउनका लागि तत्परता देखाउनुपर्ने आवश्यकता देखिन्छ । यसलाई संरक्षण, संवर्धन तथा प्रवर्धनका लागि समुदायमा व्यापक चेतना जगाउनु जरुरी छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार