Listen LIVE

बाँकेमा प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो

नेपालगञ्ज : पछिल्लो समय नेपालमा प्राविधिक शिक्षाप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि छिटो रोजगारीको अवसर पाउने र सीप हासिल गर्न सकिने भएकाले यो शिक्षा लोकप्रिय बन्दै गएको हो ।

बाँकेमा वि.सं. २०५३ सालदेखि सञ्चालनमा रहेको सुष्मा कोईराला मेमोरियल क्याम्पस यस क्षेत्रको अग्रणी प्राविधिक शिक्षालयका रूपमा स्थापित भएको छ । क्याम्पसका अनुसार देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गरेका छन् ।

क्याम्पस प्रशासन प्रमुख चन्दा शाहीका अनुसार दार्चुला, अछाम, बाजुरा, सुर्खेत, जाजरकोट, डडेलधुरा, जुम्ला लगायत ४० भन्दा बढी जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन् । विद्यार्थीको संख्या बढ्दै गएकाले आरक्षण व्यवस्था समेत गरिएको उनले बताइन् ।

नेपालगञ्जमा आयोजित एचए तेस्रो वर्षका विद्यार्थीहरूको बिदाइ कार्यक्रममा क्याम्पस प्रमुख रञ्जन ढुंगानाले तीन दशकमा क्याम्पसले २ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरेको जानकारी दिइन् । तीमध्ये करिब ७० प्रतिशत सरकारी सेवामा कार्यरत रहेको उनले बताइन् ।

उनका अनुसार सुरुवाती चरणमा प्राविधिक शिक्षाप्रति रुचि कम भए पनि अहिले अवस्था परिवर्तन भएको छ । गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिमा जोड दिइएको उनले उल्लेख गरिन् ।

कार्यक्रममा खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अर्जुन सुनारले प्राविधिक जनशक्ति देशका लागि महत्वपूर्ण भएको बताए । भेरी प्राविधिक शिक्षालयका शिक्षक सन्जीव पूर्बेले स्वास्थ्य सेवा जिम्मेवारीपूर्ण र मानवीय सेवा भएकाले इमान्दारी आवश्यक रहेको उल्लेख गरे ।

क्याम्पस संयोजक ललिता बस्नेतले विद्यार्थीहरूलाई जिम्मेवार र सेवामुखी बन्न आग्रह गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

एचए तेस्रो वर्षका सन्तोष मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । स्वागत मन्तव्य समिक्षा थापाले दिएकी थिइन् भने सञ्चालन दिपिका शाही, आयुश रेग्मी, दिपीका थारु र कैलाश न्यौपानेले गरेका थिए ।

प्राविधिक शिक्षाप्रति बढ्दो आकर्षणले भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया