यदुराज मिश्र/नेपालगञ्ज : सोमवार पक्राउ परेका उदय श्रेष्ठमाथि बाँकेका कबाडी र संयुक्त एम्बुलेन्स चालक संघ नेपाल खनिएको छ । बाँकेका विभिन्न ठाउँबाट कमिशन खाने श्रेष्ठले नपाएपछि सामाजिक संजालमा स्टाटस हालेर ब्यापारीहरुको सामाजिक र चारित्रिक हत्या गर्दै आएको उनीहरुको आरोप छ ।
निजी संघसंस्थाका साथै बाँकेका विभिन्न प्रशासनिक र आर्थिक संकलन गर्ने निकायलाई विभिन्न आरोप लगाएर सामाजिक संजालमा टिकाटिप्पणी गर्दै आएका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय बाँकेले अपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरेको छ ।
अपराधिक लाभ लिन नहुने कसूरमा परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज १० का उदय बहादुर सिंह श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका हो ।
उदय श्रेष्ठ पक्राउ परेको बारेमा संयुक्त एम्बुलेन्स चालक संघ नेपालले पत्रकारिताको दम्भ देखाएर जहिले पनि पैसा माग्ने गरेको प्रतिक्रिया दिएको छ । भारतस्थित लखनउको विभिन्न अस्पतालबाट कमिशन खाँदै आएको आफुलाई पत्रकार भनाउने श्रेष्ठले विरामीलाई भारत लैजाने एम्बुलेन्सबाट पछिल्लो समय ठुलो रकम माग गरेको संघका एक पदाधिकारीले आरोप लगाए ।
संघको लुम्बिनी प्रदेश कमिटीका एक जना पदाधिकारीले भारतको लखनउस्थित विभिन्न अस्पतालबाट श्रेष्ठले ठुलो कमिशन लिँदै आएको भन्दै पछिल्लो समय २५ लाख भारतीय रुपैयाँ माग गर्दा नपाएको झोंकमा बाँकेका एम्बुलेन्स सञ्चालक र चालकमाथि नै कमिशनको आरोप लगाएको जिकिर गरे ।
पक्राउ परेका श्रेष्ठमाथि आवश्यक अनुसन्धान गर्न आग्रह गर्दै नाम उल्लेख नगर्ने शर्तमा उनले यस्ता व्यक्तिलाई कडा कारबाहीको माग गरे । विरामीलाई छिटो छरितो र उचित मूल्यमा सेवा दिने एम्बुलेन्सलाई नै श्रेष्ठले बन्धक बनाउने कार्य गरेको उनले आरोप लगाए ।
यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाको विभिन्न ठाउँमा कबाडको ब्यापार गर्दै आएका ब्यापारीले उदय श्रेष्ठले जथाभावी स्टाटस लेखेर आफुहरुको चरित्र हत्या गरेको आरोप लगाएका छन् । कबाड जस्तो वस्तु बिना रिसाइक्लिङको काम नलाग्ने भन्दै आफुहरु नियमानुसार तिरो तिरेर भारत निकासी गरिरहेको उनीहरुले बताएका छन् । नाम नलेख्ने शर्तमा एक जना कबाडीले आफुहरु कबाडको ब्यापारी भएकोले रिसाइक्लिङ गर्ने नेपाली उद्योगहरुले माग गरेको जति कबाड उपलब्ध गराउन सक्ने भन्दै उनले छानबिन र अनुसन्धानै नगरी श्रेष्ठले कबाडी व्यवसायीमाथि झुठा आरोप लगाउनु उचित नभएको गुनासो पोखे । पक्राउ परेका श्रेष्ठले सम्पूर्ण पत्रकार जगतको बेइज्जती गराएको भन्दै उनले सामाजिक मर्यादासमेत विर्सेको जिकिर गरे ।
श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । बाँके प्रहरीका प्रवक्ता डिएसपी दीपक पातलीले भने, ‘उहाँलाई पक्राउ गरेका छौं, अब सबै कुरा अनुसन्धानबाट खुल्नेछ ।’ थप अनुसन्धाका लागि बाँके जिल्ला अदालतबाट म्यादसमेत थप गरिएको डिएसपी पातलीले बताए । श्रेष्ठ ध्वनी खबर डटकमका सञ्चालक हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार