Listen LIVE

कोदोमा ‘सिथ ब्लाइट’ ले चिन्तित पर्वतका कृषक

पर्वत : जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरी र कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक कोदो खेतीमा देखिएको रोगले चिन्तामा परेका छन्। 

गत वर्ष पनि यही ‘सिथ ब्लाइट’ कै प्रकोपका कारण कोदो खेतीमा धेरै क्षति भोगेका शंकरपोखरीका केही कृषकले यो वर्ष पनि सोही प्रकोपको सामना गर्नुपरेको छ। कोदोको बोट परिपक्व भएर अब पसाउने तयारीमा रहेको वेलामा पातहरू सुक्दै जाँदा कोदो बारीमा नै घामले डढाएको जस्तो देखिँदै जान थालेको छ। 

शंकरपोखरीका कृषक गणेश थापाले शंकरपोखरी क्षेत्रका अधिकांश कृषकहरूको कोदो खेतीमा धेरै थोरै मात्राको यो रोगको प्रकोप बढिरहेको बताए। यसको प्रकोपले गत वर्ष उत्पादन हुने क्षमतामा करिब ३० प्रतिशतले ह्रास आएको अनुभव सुनाउँदै यस वर्ष पनि सोही पिडा भोग्न बाध्य हुनुपरेको बताए। ‘गत वर्षको अनुभव के छ भने यसको प्रकोपले करिब ३० प्रतिशतले उत्पादनमा ह्रास आयो। यो प्रकोपले भेटेको कोदो त्यति स्वादिलो पनि नहुने रहेछ जस्तो लाग्यो’, उनले भने, ‘कोदोमा फूल फुल्न लागेको बेलामा सम्बन्धित पक्षको ध्यान गएन भने कृषकहरू थप मारमा पर्दैछौँ।’

अन्य बालीको तुलनामा बाँदरबाट खासै क्षति नहुने कोदोमा रोग लाग्दा कृषक मारमा पर्ने उनको भनाइ छ। वर्षभरिलाई पुग्ने गरी धान खेती नहुने कृषकहरू अधिकांश रहेको शंकरपोखरीका कृषक सबैले कोदो खेती गरिरहेको उनले बताए। 

प्रकोपले कोदोमा क्षति गरिसकेपछि दुई माना कोदो, एक÷दुई किलो मल दिएर सहानुभूति देखाउन भन्दा समयमा नै यसको रोकथामको लागि स्थानीय तह सहितका सरोकारवालाले समयमा नै ध्यान दिनुपर्ने कृषकहरूको माग छ। समस्या देखिँदा साथ गम्भीर भएमा मात्रै कृषक भोको बस्नु नपर्ने भन्दै कृषकहरूले चौपाया पाल्ने प्रमुख अन्न पनि कोदो नै भएकोले पशुपालनमा पनि ह्रास आउन सक्ने बताएका छन्। 

फलेवास नगरपालिकाको कृषि शाखाका प्रमुख केदार सापकोटाले भने यसको नियन्त्रणका लागि कीटनाशक औषधिहरू पठाउने काम भइरहेको बताए। शंकरपोखरी क्षेत्रमा मात्रै यस्तो प्रकोप देखिएको र गत वर्ष पनि देखिएकोले त्यस क्षेत्रमा लगाइने कोदोमा थप प्राविधिक जाँच गर्नुपर्ने उनको भनाइ छ। 

रोगको सुरुवातमा पातको फेदमा ससाना दाग देखा पर्ने र बिस्तारै ठुलो हुँदै फुस्रो र खैरो रङमा परिवर्तन हुने सापकोटा बताउँछन्। यो रोग लागेको पातमा पानीको अभाव हुनाले बिस्तारै पात सुक्ने र बिरुवाले खाना बनाउने प्रक्रिया नै रोकिने उनको भनाइ छ। रोगको अत्यधिक सङ्क्रमण अत्यधिक भएमा ढुसीले बोटको डाँठमा समेत आक्रमण गर्दा अन्न उत्पादन घट्ने सापकोटा बताउँछन्।

प्रतिक्रिया