Listen LIVE

टाँगाचालक कामविहीन, आर्थिक अवस्था दयनीय

नेपालगञ्ज : बर्षौंदेखि टाँगा चलाएर जीविकोपार्जन गर्दै आएका टाँगाचालक पछिल्लो समय कामविहीन हुन थालेका छन् । सवारीसाधनका आधुनिक साधनको प्रयोग बढ्न थालेपछि टाँगाको उपयोग घट्दै गएसँगै टाँगाचालक कामविहीन हुन थालेका छन् ।

बर्दियाको गुलरियादेखि भारतको सीमा क्षेत्र मूर्तिहासम्म टाँगा चलाउँदै आएका चालक अब दिनहुँ जसो यात्रु नपाएर कामविहीन हुन थालेका छन् । एक दशकअघिसम्म यो सडकखण्डमा ५२ वटा टाँगा सञ्चालनमा रहे पनि हाल १६ वटा मात्र सञ्चालनमा छन् । टाँगाचालकले दिनभरिमा करिब छ सय रुपियाँसम्म कमाउँछन् तर त्यसमा पनि करिब तीन सय रुपियाँ घोडाको आहारामा खर्च हुने गरेको टाँगाचालकले बताएका छन् ।

गुलरिया नगरपालिका–७ का टाँगाचालक सब्बिर खाँले भने, “घर घरमा मोटरसाइकल र अन्य सवारीसाधन पुगेपछि यात्रु नै पाइँदैन । बिहान ७ बजेदेखि बाटोमा बस्छौँ, साँझ रित्तो हात घर फर्किनु पर्छ ।” भारतको मूर्तिहाबाट बिहान र साँझ सञ्चालन हुने रेल सेवाले केही यात्रु उपलब्ध गराउँथ्यो तर रेल सेवा बन्द भएसँगै टाँगाचालकको रोजीरोटी बन्द हुने अवस्थामा पुगेको छ । अघिल्लो पुस्तामा विवाह, व्रतबन्ध, धार्मिक वा सामाजिक समारोहमा टाँगाको विशेष महत्व हुने गरेको थियो तर अहिले त्यो प्रचलनसमेत हराउँदै गएको छ ।

गुलरिया नगरपालिका–८ का टाँगाचालक कल्लु चौधरीले करिब दुई दशकदेखि यो पेशा अपनाउँदै आएका छन् । उनले भने, “टाँडा चढ्ने मानिस पनि आउँदैनन्, आइहाले भने पनि भाडा पनि पुरानै छ । आठ किलोमिटर यात्राका लागि एक सय रुपैयाँ लिन्छौँ तर मानिसले टाँगा चढ्नै मान्दैनन् । टाँगा चलाउन गाह्रो र खर्चिलो पनि छ ।” चालकको भनाइ अनुसार दैनिक आम्दानीले न त परिवारको गुजारा चल्छ, न त घोडाको खर्च धानिन्छ । त्यसैले धेरै जसो चालकले यो पेशा त्याग्न थालेका छन् ।

गुलरिया नगरपालिका–६ का वडाध्यक्ष सुधांशुप्रकाश शर्माले कोभिड महामारीको समयमा टाँगाचालकको राहतका लागि चामल, दाल, तेल र घोडाका लागि आहाराको व्यवस्था गरिएको जानकारी दिए । उनले त्यसबाहेक दीर्घकालीन सहयोग गर्न नसकिएको स्वीकार गरे । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका कर्मचारी कृष्ण डिसीले भने, “सवारीसाधनको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । त्यसैले परम्परागत सवारी टाँगाको आकर्षण घट्नु स्वाभाविक हो ।”

प्रतिक्रिया