दैलेख : दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ का ५० वर्षीया नगेन्द्र खड्का १७ वर्षअघि घरबारीको माटोको उब्जाउ देखेर मख्ख पर्थे। त्यतिबेला परम्परागत रूपमा नगदेबाली खेती हुन्थ्यो ।
त्यस बाहेक मौसम अनुसार अन्य बालीहरू राम्रो उब्जाउ हुने भएपछि खाद्यान्न अभाव कहिल्यै भएन । दुई वटा दुहुना भैँसी, गाई गोरु पालेर मल पनि टन्न हुने र बारीमा मल पनि प्रशस्त हाल्दा नुन बाहेक केही किन्न नपरेका थापा अहिले त्यही बारीमा उत्पादनमा आएको ह्रास देखेर दङ्ग परेका छन् ।
लामो समय तरकारी खेती गर्न छाडेको खड्का पुन त्यही माटोको उब्जाउ शक्ति बढाउने अभियानमा जुटे । त्यही बारीमा आफ्नो जागर पोख्न थाले । हिजो आज बारीको उब्जाउ शक्ति बढ्दै गएको खड्काले सुनाए । कारण हो उनले जलवायु अनुकूलन कृषि प्रविधि अङ्गाल्नु ।
कुनैबेला राम्रो उत्पादन हुने बारीमा दुःख गरे अनुसार उत्पादन हुन छोड्यो यसको कारण त कीटनाशक विषादी प्रयोग पो रहेछ । खड्काले भने तरकारी बालीमा लाग्ने रोग किरा नियन्त्रणका लागी जैविक उपचार विधि अपनाइएको छ ।
पछिल्लो चार वर्षयता बजारमा पाइने विषादी प्रयोग गर्न छोडेको उनको भनाइ छ । खड्काको बारीमा मौसम अनुसार तरकारी उत्पादन भइरहेका छन् । कुनैबेला विषादी प्रयोग नगरी तरकारी फल्दैन जस्तो लाग्थ्यो । उनले भने, “विषादी प्रयोग नगर्दा पनि त तरकारी फल्दो रहेछ । त्यसमाथि अर्ग्यानिक खाँदा स्वास्थ्य पनि नबिग्रिने ।“
छ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेको खड्काको परिवारले मौसम अनुसार काउली, बन्दागोपी, गोलभेँडा, तिताकरेला, भेन्डी लगायतका तरकारी उत्पादन हुन्छ । उनले बारीमा उब्जाउ वृद्धि भएसँगै खड्काले सागर कृषि पशुपन्क्षी फार्म दर्ता गरेर छ रोपनी जग्गामा तरकारी खेती गरेर वार्षिक ५–६ लाख आम्दानी गर्ने गरेका छन् ।
खड्का भन्छन, “कलाकार पशुपति शर्मा र सीता केसीले गाएको मलाई अमेरिका यही मलाई जापान पनि यही गीत मेरै लागी बनेको हो की ।“ गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडीमूलकमा गए पनि आफू गाउँमै तरकारी व्यवसाय गरेर आम्दानी गरेको बताए । पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार ल्याउनु पर्ने बाध्यतामा रहेको खड्काको भनाइ छ ।
“सानै उमेरमा हिमाचल गए, दुःख पाए । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किए तरकारी लगाए । तर तीनै खड्का आजभोलि गाउँकै अगुवा कृषक बनेका छन् । पहिला त मैले जहान परिवारले खाने तरकारी फलाए । पछि बिक्री हुन थालेपछि व्यावसायिक तरकारी खेतीतिर लागेको हौँ“, उनले थपे “घरमा श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन् । गाईबस्तुको मल बाहेक अन्य मल प्रयोग गर्दिनन् ।“
छोराछोरीलाई उनले तरकारी बेचेरै पढाएका हुन् । उनी जस्तै समाजमा रहेको शोषण, दमन, र अन्यायलाई साधैका लागी अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिए नौमुले गाउँपालिका–६ का धन बहादुर तारामी मगर अहिले व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सेना समायोजन गर्दा योग्य ठहरिएका मगरले नेपाली सेनामा समायोजन भई एक वर्ष जागिर गरे ।
नेपाली सेनाले सञ्चालन गर्ने तालिम गर्दागर्दै स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिएर गाउँ फर्केका तारामी मगरको अहिले परिचय नै फेरिएको छ । चार रोपनीमा जग्गाभित्र लटरम्म फलेका बोडी, टमाटर, काउली बन्दा, करेला, लौकासहितका तरकारीले अहिले दश वर्षे जनयुद्धदेखि नेपाली सेनाको जागिर समेतलाई बिर्साउने गरेको उनको भनाइ छ । तरकारीमा लाग्ने किराको नियन्त्रणका लागि तारामी मगर आफैँ कीटनाशक औषधी बनाउँछन् ।
किरा नियन्त्रणका लागि बास, खाडल पासो, ल्युउर राखिएको पानीको पासो, साबुन पानी पासो, मोहनी पासोले बारीमा लागेको किराको नियन्त्रण गर्ने प्रविधिलाई देखाउँदै भन्नुभयो तरकारीमा लाग्ने किराको सङ्ख्या र क्षतिको आङ्कलन गरेर निषादीमुक्त तरकारी उत्पादन गरिरहेको छु । जलवायु उत्थानशील कृषि प्रविधिबाट व्यावसायिक तरकारी खेती गर्न थालेपछि गाउँका अन्य किसान समेत त्यस तर्फ आकर्षित बनेको उनको भनाइ छ ।
“गाउँ घरमा विगतमा अमृत हुने बस्तु बजारबाट विषादी ल्याएर हाम्रै कारण विष बनाइएका छन्“, तारामीले भने, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनु पर्छ । नत्र कृषि खेती गरिरहेका किसान भेटाउन सकस हुन्छ । तारामीको तरकारी खेती देखेपछि गाउँका अन्य युवा पनि तरकारीबाट राम्रो उत्पादन लिन थालेका छन् ।“
“विषादी नछरी किरा नियन्त्रण र विषादी रहित तरकारी उत्पादनमा तारामीले अपनाएको तरिकाले हामीलाई लोभ्याएको छ,“ नौमुले गाउँपालिका–४ का कृष्ण बहादुर थापा मगरले भने, “आफ्नै वरिपरि पाइने वनस्पति र गहुँतबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ । उहाँ अहिले गाउँ छिमेक वरपर राम्रो उदाहरणका नमुना कृषक बनेका छन् । घरमा भेट्न आउने आफन्त हुन् कि अन्य छिमेकी यिनी (तारामीको) खेतीकै कुरा गर्छन् ।“
पहिलो वर्ष विषादी ल्याएर तरकारी उत्पादन गरियो तर त्यसले उत्पादनको मात्र ह्रास भएपछि जलवायु अनुकूलित कृषि प्रविधि र जैविक मल प्रयोग गरे पनि तरकारीमा बाली उत्पादनमा समेत वृद्धि भएको उनको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार