Listen LIVE

तरकारी बालीमा ग्राफ्टिङ् (कलमी) प्रविधिको प्रयोग

नेपालगञ्ज (डेस्क) : तरकारी बालीमा ग्राफ्टिङ् प्रविधि प्रभावकारी बन्दै गएको छ । माटोजन्य रोगका कारण तरकारी खेतीमा माटोबाट सर्ने रोगको समस्या देखिन थालेपछि ग्राफ्टिङ् (कलमी) प्रविधिको प्रयोग किसानहरुले गर्न थालेका छन् ।  

पूर्वी नेपालका अगुवा तरकारी कृषकहरु पछिल्लो समय ग्राफ्टिङ् प्रविधिको प्रयोग गर्दै आएका छन् । माटोबाट सर्ने ढुसी र ब्याक्टेरियाको कारणले लाग्ने रोगहरु तथा जरामा गाठा बनाउने जुकाले तरकारी बालीहरुको उत्पादन, गुणस्तर र भण्डारणमा हानी पु¥याउने गरेको छ । ग्राफ्टिङ् प्रविधिको प्रयोगले माटोबाट सर्ने रोगको व्यवस्थापन हुँदै आएको तरकारी कृषक रघु चन्द्रवंशीले बताए । 

माटोलाई निर्मलीकरण, जैविक नियन्त्रण विधि र कलमी प्रविधिसँग समायोजन गरेर व्यवसायिक किसानहरुले पछिल्लो समय तरकारी खेती गर्दै आएका छन् । सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र सोलुखुम्बुलगायत पहाडी जिल्लाका व्यवसायिक किसानहरुले कलमी प्रविधिबाट तरकारी खेतीको सुरुवात गरेको सुनसरीका कृषक अमिर निरौला बताउँछन् । 

कोशी प्रदेशकै व्यावसायिक तरकारी किसानहरुले ‘तरकारी बालीमा कलमी प्रविधि’ प्रयोगमा ल्याएका छन् । तरकारी खेतीमा माटो, रोग, किराबाट आइपर्ने समस्याहरु झेल्दै आएका किसानहरुले ग्राफ्टिङ् प्रविधिको प्रयोग गर्दै आएको सुनसरीको वराहक्षेत्र ९ सुन्दर कृषि फर्मका कृषक छविलाल चौधरीले बताए । उनले भने, “टमाटर खेतीमा कलमी प्रविधिको प्रयोगबाट खेती गर्न सुरु गरेका छौँ । कलमी गरेको बोटहरु राम्रो भएर आएको छ ।” 

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका बाली रोग वैज्ञानिक डा. रामबहादुर खड्काका अनुसार तरकारी बालीमा पछिल्ला केही वर्षदेखि बढ्दो माटोजन्य रोग तरकारी उत्पादक किसानहरूका लागि ठूलो चुनौती बन्दै आएको छ । ग्राफ्टिङ् (कलमी) प्रविधिले माटोबाट सर्ने ढुसीजन्य रोगको व्यवस्थापन हुँदै आएको उनले बताए । 

डाक्टर खड्काका अनुसार तरकारीको कलमी, एउटा जातको जरा र अर्कीको डाँठ अर्थात् काण्ड काटेर जोड्ने विधि ग्राफ्टिङ् (कलमी) हो । यसरी जोडेपछि उच्च आद्र्रताको बिचमा राख्नुपर्छ । यो विधि सबै तरकारी खेतीमा गर्न सकिँदैन । फल दिने तरकारीहरू, गोलभेँडा, भन्टा, खुर्सानी, भिँडे खुर्सानी र लहरे बालीहरूमा घिरौँला, काँक्रो, करेलामा मात्र गर्न सकिने उनले बताए । 

हाल पूर्वी नेपालका किसानहरुले गोलभेँडा, भन्टा र खुर्सानीमा कलमी विधिको काम गरिरहेका छन् । बिरुवाको जरादेखि नै बलियो बनाई, रोग सहन सक्ने विरुवाको विकास गरी उत्पादकत्व बढाउन यो विधि प्रभावकारी बन्दै गएको तरकारी किसानहरु बताउँछन् । तरकारी बालीमा माटोबाट लाग्ने रोग मुख्य चुनौती बन्दै आएको छ । विषादी र अन्य विधिबाट रोग व्यवस्थापन गर्न किसानलाई गाह्रो बनेका बेला रोग सहन सक्ने जरा र गुणस्तरीय फल दिने तरकारीको टुप्पो अर्थात् काण्डलाई जोडेर बिरुवाको नयाँ विकास गरी तरकारी फलाउने गरिन्छ । 

मुलुकभित्र तरकारी बालीको उत्पादकत्व एवम् गुणस्तर बढाउन नेपाल कृषि अनुसन्धान परिषद्ले उन्नत प्रविधिको विकास तथा प्रवर्धनको उद्देश्यले फिड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याबअन्तर्गत तरकारीमा लाग्ने माटोजन्य रोगको व्यवस्थापनका बारेमा कृषकहरूको जीविकोपार्जन र खाद्य सुरक्षामा सुधार परियोजनाले काम गर्दै आएको वैज्ञानिक डा. खड्काले बताए । उनले भने, “तरकारी बालीमा माटोबाट सर्ने रोगको व्यवस्थापनका लागि कलमी प्रविधिको विकास, विस्तार र प्रवर्धन गर्न कोशी प्रदेशका किसानहरूलाई कलमी प्रविधिका बारेमा बारीमै प्रशिक्षण दिएपछि किसानहरु तरकारी बालिमा कलमी गर्न सुरु गरेका छन् ।” 

किसानहरुले जथाभावी विषादीको प्रयोग गर्दा माटोको स्वास्थ्य अवस्था बिग्रिएर गएका बेला कलमी प्रविधिले भने विषादीको प्रयोगलाई कम गर्न मद्दत गर्ने र जरादेखि नै बिरुवालाई बलियो बनाउने हुँदा बिरुवामा रोग कम लाग्ने गरेको छ । 

डाक्टर खड्काका अनुसार कलमी गर्दा सबैभन्दा पहिले जरा भएको बिरुवाहरू पहिचान गर्नुपर्छ । भन्टा, गोलभेँडा, भिँडे खुर्सानी, खुर्सानीसँग जोड्न मिल्ने जङ्गली प्रजातिको बिरुवा पत्ता लगाउनुपर्छ । तर रोग कम लाग्ने र जोड्न मिल्ने खालको जङ्गली प्रजातिको बिरुवाको पहिचान गर्नु पनि किसानहरुलाई उत्तिकै चुनौतीपूर्ण छ ।  

ब्याक्टेरिया, ढुसी र जुकाहरू माटोमै लामो समयसम्म जीवित हुँदा बिरुवामा रोग लाग्ने गरेको छ । विशेष गरी जरा कुहिने, बोट मर्ने रोग लाग्ने गरेको छ । कलमी प्रविधिबाट रोपिएका तरकारीका बिरुवाहरूकोे जरा गहिरोसम्म जाने, धेरै फैलिने र खाद्य तत्व र पानी बिरुवाले बढी लिने हुँदा बिरुवाको वृद्धि विकास छिटो हुने र उत्पादन पनि राम्रो दिने गरेको छ ।

प्रतिक्रिया