Listen LIVE

स्मार्ट कृषि गाउँ कार्यक्रम, प्रदेश सरकारको करोडौं लगानी

प्युठान : ऐरावती गाउँपालिका ६ मा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका छन् । लुम्बिनी प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत उक्त वडामा बिजुलीकोट स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा जोडिएका हुन् ।

चार वर्षसम्म सञ्चालन भएको कार्यक्रमबाट गाउँमा ६९ वटा पक्की टनेल र ६३ वटा कच्ची टनेल, १२ वटा सिँचाइ कुलो निर्माण, नौ वटा पक्की सिँचाइ पोखरी निर्माण, ३७ वटा मिनिटिलर वितरण भएको बिजुलीकोट स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष श्याम थापाले बताए । कार्यक्रमले किसानलाई व्यावसायिक रूपमा तरकारी खेती गर्नका लागि आवश्यक पूर्वाधार उपलब्ध गराएको उनले बताए । टनेल निर्माण, मिनिटेलर, क्यारेट लगायतका सामाग्री उपलब्ध भएको उनले बताए । 

त्यसैगरी किसानले विभिन्न तालिम, परामर्श समेत पाएका छन् । उक्त कार्यक्रम अन्तर्गत दुई करोड ११ लाख ५४ हजार रुपैयाँको कार्यक्रममा प्रदेश सरकारले १ करोड १५ लाख रुपैयाँ लगानी गरेको थियो ।

प्युठानकै माण्डवी गाउँपालिका २ मा मर्कावाङ स्मार्ट कृषि गाउँ कार्यक्रमबाट टमाटर खेती गर्ने किसान लाभान्वित भएका छन् । राम्रो टमाटर उत्पादन हुने मर्कावाङमा कार्यक्रमले किसानलाई आवश्यक पर्ने थप पूर्वाधार र कृषि सामाग्री उपलब्ध गराएर सहयोग गरेको किसान हेमराज अधिकारीले बताए । “पूर्वाधारको क्षेत्रमा यो कार्यक्रमले धेरै सहयोग भएको छ,” उनले भने, “मेसिन औजार समेत उपलब्ध हुँदा खेती गर्न सजिलो भएको छ ।”

जिल्लामा ०७५–०७६ बाट स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएको हो । चार वर्ष अवधिको उक्त कार्यक्रम अन्तर्गत किसानले तरकारी, फलफूल, बाख्रापालन गरेका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन भएको कार्यक्रम ०८०–०८१ देखि सम्पन्न भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ । प्रदेश सरकार, स्थानीय तह र कृषकको साझेदारीमा कार्यक्रम सञ्चालन भएको कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए । स्मार्ट कार्यक्रमबाट प्रदेश सरकारकाट करोडौं रुपैयाँ लगानी भएको छ । 

प्रत्येक स्मार्ट कार्यक्रममा करोड बढीको प्रदेश सरकारको लगानी रहेको श्रेष्ठको भनाइ छ । सरुमारानी गाउँपालिकामा पूरा वर्ष कार्यक्रम सञ्चालन नभए पनि अरू पालिकामा कार्यक्रम अवधिभर सञ्चालन भएको उनले बताए । यो वर्ष स्मार्ट गाउँ कार्यक्रमलाई स्थानीय तहमा हस्तान्तरण गर्ने योजना रहेको समेत उनले बताए ।

कार्यक्रम सकिएपछि किसानलाई कृषि व्यावसायमा निरन्तर जोड्नका लागि सहकारीको अवधारण समेत अघि बढाइएको छ । बिजुलीकोट स्मार्ट कृषि सहकारी स्थापना गरेर सबै किसानलाई सहकारीमा आवद्ध गराएको अध्यक्ष थापाले बताए । “राज्यले नियमित रूपमा नियमन गर्न आवश्यक छ,” उनले भने, “उत्पादित बस्तुको बजारीकरणका लागि अझै सहयोग आवश्यक छ, राज्यले गरेको ठुलो लगानीलाई खेर जान दिनु हुँदैन ।”

यस्तै, स्मार्ट कृषि गाउँ कार्यक्रमले व्यावसायिक रूपमा खेती गर्न हौसला मिलेको ऐरावती गाउँपालिका–६ उदिकका हिमाल थापाले बताए । “मेसिन औजार उपलब्ध गराएको छ, तालिम लिएका छौं, टनेल बनाएका छौं,” उनले भने, “हामीले उत्पादन गरेका तरकारी बिक्री गर्न अझै समस्या भइरहेको छ ।” उत्पादन भएका तरकारी बिक्री गर्न सहजीकरणका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

माण्डवी गाउँपालिका–२ मर्कावाङका किसान हेमराज अधिकारीले उक्त कार्यक्रमलाई स्थानीय सरकारले अपनत्व लिएर अघि बढ्नुपर्ने बताउँछन् । “कार्यक्रमबाट धेरै प्रविधिहरूको सहयोग भएको छ,” उनले भने, “यसको दिगो सदुपयोगका लागि स्थानीय सरकारले चासो दिनुपर्छ ।” टमाटरको राम्रो उत्पादन हुने मर्कावाङमा किसानलाई व्यावसायिक रूपमा अघि बढ्न कार्यक्रमले सहयोग गरेको उनको भनाइ छ ।

स्मार्ट गाउँ कार्यक्रमलाई प्रदेश सरकारले यो वर्ष सहकारीमा परिणत गरेर हस्तान्तरण गर्ने योजना बनाएको छ । सहकारीमा परिणत भएका स्मार्टलाई हस्तान्तरण गर्न योजना बनेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका निमित्त प्रमुख श्रेष्ठले बताए । “सबै स्मार्टलाई खवर गरेका छौं,” उनले भने, “तीन वटा स्मार्ट सहकारीमा परिणत भएका छन, हस्तान्तरणको कार्यक्रम बाँकी छ ।”

प्रतिक्रिया