Listen LIVE

घरकै एक कुनामा पाक्छ चर्चित ‘मुबारक बिरयानी’, देशभरबाट पुग्छन् ग्राहक

नेपालगञ्ज : पश्चिम तराईको सहर नेपालगञ्जको गगनगन्ज टोलमा एउटा सानो तर चर्चित रेस्टुरेन्ट छ, ’मुबारक बिरयानी कर्नर’।
यहाँको बिरायानीको स्वादले स्थानीय मात्र होइन, देशभरका अन्य ठाउँका मानिसलाई पनि लोभ्याएको छ। यसका सञ्चालक हुन् ६३ वर्षीय मुबारक अन्सारी।
यो रेस्टुरेन्ट हप्ताको ६ दिन, बिहान ९ बजेदेखि दिउँसो दुई बजेसम्म खुल्छ। शुक्रबार बन्द रहन्छ।
’शुक्रबार मस्जिद जानुपर्छ, नमाज पढ्न र प्रार्थना गर्न हामी सबै घरका पुरूषहरू समय निकाल्छौं,’ उनले भने।
रेस्टुरेन्टमा सधैं ग्राहकको भीड हुन्छ। यहाँको बिरयानी नेपालगञ्जमा मात्र होइन, यहाँ आउजाउ गर्ने देशका कुना कुनाका मानिसहरूले चाखेका छन्। काठमाडौंबाट त धेरै माग आउँछ।
’काठमाडौंबाट अर्डर आउँछ। नेपालगञ्जबाट प्लेन गइरहने हुनाले दुई घन्टाभित्रै ग्राहकको हातमा पर्छ,’ मुबारकले भने।
मुबारकको रेस्टुरेन्टमा सर्वसाधारणदेखि सेलेब्रेटी, राजनीतिज्ञ, विदेशी पाहुना समेत पुगेका छन्।
उनका अनुसार एक पटक अमेरिकी राजदूत बिरयानी खान आएका थिए।
’पहिल्यै टेबल बुक गरिएको थियो। प्रहरी पनि आएका थिए। पछि मात्र थाहा भयो, अमेरिकी राजदूत रहेछन्,’ मुबारकले भने।
पूर्वराजपरिवारका सदस्य पनि एक पटक आएको उनले बताए।
यसरी आएका ग्राहकहरूको नाम प्रचारका लागि भने प्रयोग नगरेको उनी बताउँछन्।
’हामी त ग्राहक को हो भनेर सोधखोज गर्दैनौं। ग्राहकले मिठो मानेर खाऊन् र फेरि पनि आऊन् भन्ने मात्र चाहन्छौं। हाम्रा लागि सबै ग्राहक समान हुन्,’ उनले भने।
मुबारकको घर नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर ७, गगनगन्जमै छ। यही रेस्टुरेन्टको आम्दानीले १२ वर्षअघि उनले एक कट्ठा जग्गामा घर बनाएका हुन्। अहिले त्यही घरमा १४ जनाको परिवार बस्छ। आम्दानीको मुख्य स्रोत यही रेस्टुरेन्ट हो।
यो रेस्टुरेन्टको कथा पुरानो छ
मुबारकका अनुसार उनका जिजुबुबा भारतको फरूकाबादमा अंग्रेज हाकिमका भान्से थिए। अंग्रेजहरूसँग झगडा परेपछि उनले काम छाडे र कानपुरमा होटल खोले।
त्यही होटलमा उनका हजुरबुबा र बुबा खुदाबक्स अन्सारीले पनि काम गरे। पछि बहराइचमा अर्को होटल खोले। तर त्यति सफल भएन। अन्ततः खुदाबक्स नेपालगञ्ज आए।
७० वर्षअघि उनी नेपालगञ्जकै एकलैनी टोलमा बिरयानी बेच्न थाले। त्यो बेला नेपालगञ्जमा बस्ती पातलो थियो, बजार सानो थियो। खुदाबक्सको हातको स्वादले भने धेरै मान्छेलाई तान्थ्यो।
बालक मुबारक त्यति बेला स्थानीय स्कुलमा पढ्थे। बुबा दमका बिरामी भएकाले पढाइ सँगसँगै होटलमा पनि सघाउँथे।
’बुबा एक्लै काम गर्नुहुन्थ्यो, कामदार राख्न सक्ने अवस्था थिएन। सघाउँदै जाँदा पढाइ छाड्नुप¥यो,’ मुबारकले सुनाए।
तीन कक्षासम्म पढेपछि उनी स्कुल जान छाडे। त्यसपछि पूर्णरूपमा होटलमा लागे।
सानो टहरोमा बाबुछोरा मिलेर पकाएको बिरयानीले ’अन्सारी बिरयानी’ नाम पायो। यो नाम ग्राहकहरूले नै राखिदिएका थिए।
सन् २०४५ सालमा बुबाको निधनपछि मुबारकले त्यही कामलाई निरन्तरता दिए।
रेस्टुरेन्टको नाममा आफ्नै नाम जोडेर बनाए — मुबारक बिरयानी कर्नर। पछि, एकलैनी टोलको जग्गा खाली गर्नुप¥यो। उनले व्यवसाय आफ्नै घरमा सारे।
अहिले यो रेस्टुरेन्टमा मुबारकका चारै छोरा उनी सँगसँगै खटिन्छन्। उनीहरू सबैले १२ कक्षासम्म पढेका छन्।
उनका जेठा छोरा ३५ वर्षीय मोहम्मद दिलसाद पहिले मेडिकल क्षेत्रको मार्केटिङमा काम गर्थे।
मुबारक बिरामी परेपछि उनले सबै काम छाडे र रेस्टुरेन्टमा पूर्णकालीन भए।
‘हामी सबै बुबालाई सघाउँछौं,’ दिलसादले भने, ’हिसाबकिताब उहाँकै हातमा हुन्छ। हामी उहाँले भनेजस्तै गर्छौं।’
मुबारकका अनुसार रेस्टुरेन्टमा सबभन्दा धेरै माग मटन बिरयानीको हुन्छ। मुबारक बिहान पाँच बजे नै मासु किन्ने ठाउँ पुग्छन्, खसी आफै छान्छन् र मासु तयार गर्न लगाउँछन्। दैनिक करिब २० किलो खसी मासु प्रयोग हुन्छ।
मटन बिरयानीसँगै यहाँ चिकेन बिरयानी, मटन करी, मटन कोर्मा, मटन कलेजो सेट, चिकेन करी, तन्दुरी रोटी, चिकेन लेग पिस फ्राई र कबाब पाइन्छ।
बिरयानीमा हाल्ने मसला बनाउने जिम्मा मुबारककी श्रीमती मोमिनाको हो। मटन र चिकेन बिरयानीमा मसला फरक हुन्छ।
‘मसलाको राज मेरी श्रीमतीलाई मात्रै थाहा छ,’ मुबारकले भने, ’उहाँ हरेक दिन ताजा मसला बनाउनुहुन्छ। बिरयानी मिठो हुनुको राज त्यही हो।’
अहिले परिवारका सदस्यबाहेक यहाँ पाँच जना कामदार छन् — रोटी बनाउने दुई जना, सफाइ गर्ने दुई जना र एक जना ग्राहक सेवा गर्ने।
’हाम्रो काम ग्राहकलाई मिठो बिरयानी खुवाउने र उनीहरूलाई खुसी बनाउने हो,’ मुबारकले भने, ’हामी पैसा कमाउने मात्रै सोच्दैनौं। ग्राहकलाई राम्रो खाना दिनु नै हाम्रो मुख्य काम हो।’
उनीहरू आफै पनि रेस्टुरेन्टको बिरयानी खान्छन्। बिहानको खाना नै यही हो। बेलुकी मात्र घरको भान्सामा पकाएर खान्छन्।
उनीहरू बिहान ६ बजेदेखि काम सुरू गर्छन्। ग्राहक नौ बजेदेखि आउन थाल्छन्। कहिलेकाहीँ ग्राहकलाई खाली फर्काउनुपर्दा भने मुबारकलाई नरमाइलो लाग्छ।
‘हामी थोरै गर्छौं तर राम्रो गर्छौं। दुई बजेपछि ढोका बन्द गर्छौं, त्यसपछि आराम गर्छौं,’ मुबारकले भने, ’कहिलेकाहीँ चाहिँ ग्राहकहरू आधा प्लेट भए पनि दिनुस् भन्छन्। त्यस बेला दुःख लाग्छ। भोलि आउनुस् भनेर पठाउँछौं।’
नेपालगञ्जका स्थानीयसँगै बाहिरबाट जानेहरू पनि यहाँ सोधिखोजी पुग्छन्।
मुबारकका छोराहरू रेस्टुरेन्टको शाखा खोल्ने सोचमा छन्। मुबारक भने त्यति उत्साहित छैनन्।
‘यहीँ आउने ग्राहकलाई पुर्याउन सकिएको छैन। अर्को ठाउँमा खोल्दा सबैलाई खुसी बनाउन नसकिएला कि भन्ने डर लाग्छ। त्यसैले अहिले नगरौं भनेर सम्झाइरहेको छु,’ मुबारकले भने।
अनि मुबारकलाई विश्वास पनि छ, भलै उनको बिरयानी कर्नर नेपालगञ्जको सानो गल्लीमा होस्, यहाँको बिरयानीको बास्नाले देशभरका मानिसलाई तान्छ! (सेतोपाटीबाट)

प्रतिक्रिया