Listen LIVE

अन्तर्राष्ट्रिय बजारको खोजीमा जुम्ली स्याउ

जुम्ला : जुम्लामा यतिबेला धमाधम स्याउ टिप्ने सिजन चलिरहेको छ । ताजा र स्वादिलो भएकाले स्थानीय कृषक अचेल अन्तर्राष्ट्रिय बजारको खोजीमा छन् । नेपाली बजारमा पनि जुम्ली स्याउको उच्च माग भएकाले अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके यहाँका स्याउले सहजै बजार लिन सक्ने उनीहरूको बुझाइ छ । 

विसं २०६२ मा केही किसानले जुम्लाको स्याउ बङ्गलादेश निर्यात गर्ने तयारी गरे । निर्यातका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले अन्तरदेशीय निर्यातसम्बन्धी कानुनी आधार तयार गरेर स्याउ बङ्गलादेश पठायो ।

जुम्ला उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गोविन्दबहादुर शाही, स्याउ किसान लोकदर्शन श्रेष्ठ र सर्पानन्द हमालले नेपाली बजार मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा जुम्लाको स्याउ पुर्याउने उद्देश्यले भारत हुँदै बङ्गलादेश निर्यात गरेका थिए । शाहीका अनुसार सुर्खेतबाट काठका पेटी बनाएर विराटनगर पठाएको र त्यहाँका अर्का व्यापारीले भारतको फूलबारी मार्ग हुँदै जुम्ली स्याउ बङ्गलादेश पुर्याइएको थियो । केही वर्षसम्म बङ्गलादेश पठाइए पनि लामो समयसम्म टिक्न सकेन । 

जुम्लाको हिमा गाउँपालिका–३ का स्याउ किसान गोपाल रोकाया जुम्लाको स्याउलाई विदेश पठाउने योजना अगाडि बढाउन सरकारी निकायसँग आग्रह गर्छन् । आफूहरूले उत्पादन गरेको स्याउ जुम्लाको शीतभण्डारमा राख्ने गरेको बताउँदै अब अन्तर्राष्ट्रिय बजारका विषयमा सरकारले सोचिदिनुपर्ने उनको माग छ । जुम्लाको स्याउ बङ्गलादेश गएको जानकारी भए पनि निरन्तरता नभएकाले त्यसमा प्रदेश तथा सङ्घीय सरकारले वातावरण बनाइदिन आग्रह गरे । गुठीचौर गाउँपालिका–५ निवासी स्याउ किसान मीनबहादुर भण्डारी अन्तर्राष्ट्रिय बजारका लागि आफू लागि परेको बताउँछन् । भण्डारीले गुठीचौर एग्रोफार्म रहेको जुम्लाकै सबैभन्दा ठुलो ४० हजार बिरुवा रोपेको बगैँचामा ९९ प्रतिशत स्याउ फलेको जानकारी दिए । उनले स्याउ अब भारत निकासी गर्ने बाटोको खोजीमा रहेको जानकारी दिए । परीक्षण तथा कानुनी आधार राज्यले छिट्टै तयार गर्न आवश्यक रहेको उनी बताउँछन् । भण्डारीका अनुसार निर्यातका लागि नेपाल सरकारसँग पहल पनि भइरहेको छ । विदेश पठाउने आधार सरकारले तयार गरिदिएमा जुम्ली स्याउले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्ने उनको विश्वास छ । चन्दननाथ नगरपालिका–२ का रत्नबहादुर भण्डारी पनि आफ्नो बगैँचाका ३६५ बोटमा स्थानीय स्याउ फलेकाले बजारको खोजीमा रहेको बताउँछन । एक दशकभन्दा बढी समय उनले बर्षेनि तीनदेखि छ लाख रुपैयाँसम्म स्याउबाटै आम्दानी गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय बजारमा लैजाने उपाय खोजिरहेको बताए । 

पचास प्रतिशत स्वदेशमै खपत

कृषि विकास कार्यालय जुम्लाले अहिले जुम्लाको स्याउ ५० प्रतिशतभन्दा बढी नेपाली बजारमै खपत भइरहेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार पाकेको स्याउ भदौ २ गतेबाट टिप्न सिफारिस दिइएको छ । जुम्ली स्याउ सुर्खेत, नेपालगञ्ज, सल्यान, धनगढी, महेन्द्रनगर, तुल्सीपुर, पाल्पा, बुटवल, गुल्मी, स्याङ्जा, काठमाडौँ, जनकपुर र विराटनगर पुग्ने गरेको उनले बताए । जुम्लाको स्याउ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणको भएको र त्यसका लागि सङ्घीय सरकारले नै पहल गरिदिनुपर्ने अधिकारीको भनाइ छ ।

साढे चार हजार हेक्टरमा स्याउ 

जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा यस वर्ष चार हजार चार सय हेक्टर जमिनमा स्याउखेती गरिएको छ । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार जसमा दुई हजार बिरुवामा स्याउ फल्ने गरेको छ । कार्यालयले यस वर्ष १० देखि १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरेको छ । असिनापानीले क्षति पु¥याएका कारण उत्पादन गत वर्षभन्दा घटे पनि स्याउको मूल्य भने बढेको छ । गत वर्ष बगैँचामा स्याउको मूल्य ४५ देखि ५५ रुपियाँ प्रतिकेजी भएकामा यस पटक ६० देखि ८० रुपैयाँसम्म मूल्य छ । 

गत आवमा ६१ करोडको निर्यात 

कार्यालय प्रमुख अधिकारीका अनुसार आर्थिक वर्ष २०८१–८२ मा जुम्लाबाट मात्रै नौ हजार ३९१ मेट्रिक टन अर्थात् ६१ करोड ४१ लाख पाँच हजार रुपैयाँको स्याउ निर्यात भएको थियो । जुम्लामा स्थानीय स्याउ रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेनसहित उच्च घनत्वका स्याउ फल्ने गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ परियोजनाअन्तर्गत जुम्लामा ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले रोपेका छन् । कृषि विकास अधिकृत खेमराज शाहीका अनुसार विसं २०७५–७६ बाट सुरु गरिएको परियोजनाअन्तर्गत ५८ वटा बगैँचामा लगानी भइरहेको छ । यसका साथै २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ नीति पनि सरकारले लिएपछि अहिले उत्पादन बढ्दै गएको छ । 

स्याउ विकास बोर्ड गठन गरिने

कर्णाली प्रदेश सरकारले साबिकको कर्णालीमा बढी उत्पादन हुने स्याउ खेतीको विस्तार र प्रवर्धन गर्न आगामी वर्ष स्याउ विकास बोर्ड गठन गर्ने जनाएको छ । आव २०८२–८३ को बजेट तथा नीति कार्यक्रममा कर्णालीमा उत्पादन भई प्रशस्त निर्यात सम्भावना रहेको स्याउ खेतीको विस्तार तथा प्रवर्धन गर्न स्याउ विकास बोर्ड गठन गरिने र ह्रासोन्मुख बगैँचा सुदृढीकरण गर्दै स्याउ, ओखर र सुन्तला खेतीलाई विशेष कार्यक्रमका रूपमा सञ्चालन गर्न १४ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख छ । 

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्याउ विकास बोर्ड गठन विधेयकको तयारी थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बखतबहादुर खड्काले आगामी हिउँदे अधिवेशनमा पेस गर्ने गरी अहिले बोर्ड गठनका लागि विधेयकको तयारी थालिएको बताए । यस्तै प्रदेश सरकारले साबिक कर्णालीको स्याउ अन्तर्राष्ट्रिय बजारमा पठाउनका लागि कुनै अधिकार नभएकाले त्यसका लागि सङ्घ सरकारले नै पहल गर्नुपर्ने खड्काले बताए । 

प्रदेश सरकारले कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा स्याउ ढुवानीका लागि किसानलाई ५० प्रतिशत अनुदानमा कार्टुन वितरण गर्ने, बेर्ना वितरण, ढुवानी सहज बनाउन पहल गर्ने जस्ता काम मात्र गर्ने उनले जनाए ।

प्रतिक्रिया