नेपालगञ्ज : कीट संरक्षण अभियन्ता पुरमल बस्नेत हिजोआज जम्ने खाल्डा, तलाउ तथा जलीय कुण्डतिर बढी भेटिन्छन् । उनको साथमा अध्ययन अवलोकनका साथै झुल वा जाली पनि हुने गर्छ । त्यो झल वा जाली आफ्नो उपयोगका लागि होइन धानमा लगाइदिन हो । त्यो धान पनि खेतबारीमा लगाइएको उन्नत जातको नभई जङ्गली प्रजातिको हो ।
सामुदायिक जिन बैङ्क गाभर भ्यालीका अध्यक्षसमेत रहेका बाँके कोहलपुर नगरपालिका निवासी बस्नेत अहिले जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानको संरक्षणमा लागेका छन् । जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानलाई कसरी संरक्षण र संवर्धन गर्न सकिन्छ भनेर यसलाई जोगाउन आफू लागिरहेको उनी बताउँछन् ।
उनका अनुसार नेपालको तराईका विभिन्न जिल्लामा जङ्गली धान पाइन्छ । बाँकेमा पनि पानी विशेष गरी कोहलपुर नगरपालिका क्षेत्रभित्र करिब एक बिघा क्षेत्रमा यो धान देखिएको छ । कोहलपुरदेखि बर्दिया मानखोलासम्म सडकको दायाँबायाँ प्रशस्तै छ । पानी जम्ने ठाउँमा आफैँ उम्रिने यो धान जोगाउनु पर्छ भनेर आफू लागिपरेको उनको भनाइ छ ।
‘पहिला पहिला छाडा गाईवस्तुले खाइदिने तथा घाँस काट्ने गर्दा त्यतिधेरै नदेखिएको धान हाल भने नगरपालिकाले छाडा गाईवस्तु व्यवस्थापन गर्दा र घाँससमेत काट्न कमी हुँदा प्रशस्तै देखिएको छ । जसरी पनि यसको बिउ संरक्षण गर्नुपर्ने उनको विचार छ । उनले भने, ‘चराले अत्यन्तै रुचाउने हुँदा बिउ जोगाउन झुलले बाला बाँधेर राखेको छु, जे जति बच्छ पहिचान गर्नका लागि सम्बन्धित ठाउँमा पठाउने योजना छ ।’
उनले जङ्गली धानको बिउ संरक्षण गर्न स्थानीय सरकार, नगर कृषि शाखा, कृषि ज्ञान केन्द्र, प्रदेश सरकार, सङ्घीय सांसद, खजुरास्थित नार्कको कार्यालय, राष्ट्रिय जिन बैङ्क लगायत सरोकारवाला सबैलाई जानकारी गराएको बताए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे तथा सङ्घीय सांसद सूर्यप्रसाद ढकाल लगायतलाई फिल्डमै बोलाएर देखाई संरक्षणको पहल गर्नु आग्रह गरेको उनले बताए ।
‘जङ्गली धान नेपालमा पाइनुले अन्य धानको मूल बिउ नेपालबाट नै उत्पादन भएको भन्ने जनाउँछ । यसको जैविक विविधतामा ठुलो भूमिका छ,’ बस्नेतले भने, ‘मैले समुदायमा जनचेतना जगाउनुका साथै सुरक्षा, संरक्षण, प्रवर्धन गर्ने तथा तालतलैया भएको ठाउँमा यसको बेर्ना सारेर यसलाई जोगाउन स्थानीय सरकार र राज्यले यसमा गम्भीर चासो देखाउनु जरुरी रहेको छ ।’
उनका अनुसार नेपालमा हालसम्म पाँच प्रजातिका जङ्गली धानको पहिचान भएको तथा नामकरणसमेत भइसकेको छ । बाँकेमा पाइएको धान भने नयाँ प्रजातिको हो । बिउको परीक्षणपछि मात्र थप कुरा पत्ता लाग्ने उनले बताए । बाँकेमा पाइएको धान एउटा सोझो बाला र अर्को हाँगा फाटेको बाला गरेर दुई थरी देखिएको उनको भनाइ छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय जिन बैङ्कका प्रमुख डा.बालकृष्ण जोशीले जङ्गली धान नेपालमा पाइनु भनेको धानको उत्पत्ति नेपालमा भएको हो भन्ने कुराको पुष्टि हुने बताए । यस क्षेत्रमा पाइने रैथाने धानका त्यसको पुर्खा जङ्गली धान भएको बताए । ‘यो धान नेपालका तराईका जलीय कुण्ड, पानी जम्ने तालतलैयामा हुन्छ । पहिचान भएका धानको बिउ, हाँगा जिन बैङ्कमा सुरक्षित छन्,’ डा.जोशीले भने ।
उनका अनुसार हालसम्म यसका पाँच वटा प्रजाति पहिचान र नामकरणसमेत भइसकेका छन् । सन् २००० देखि नै जङ्गली धानबारे अनुसन्धान सुरु भएको उनको भनाइ छ । उनका अनुसार ओरिजा निभारा, अधधोरिजा रुपिपोगन, ओरिजा ग्रानुलेटा, ओरिजा अफिसिनालिज र ओरिजा माइनुटा गरी पाँच प्रजातिका जङ्गली धानको पहिचान र नामकरण भएको हो ।
नेपालमै उत्पत्ति भएका कारण यी धान किसानले सदियौँदेखि चिन्दै आएको तर वैज्ञानिक हिसाबले करिब सन् १९६० तिरबाट पहिचान सुरु भएको उनले बताए । विश्वमा हालसम्म जङ्गली धानका २०–२२ वटा प्रजाति पत्ता लागिसकेको उनको भनाइ छ । त्यस्तै सन् १९६० ताका नेपालमा विदेशीले वैज्ञानिक रूपले अनुसन्धान सुरु गरे पनि नेपालीबाट भने सन् २००० यता विस्तृत अनुसन्धान र सङ्कलन तथा परीक्षण थालिएको उनले बताए ।
‘अन्य प्रजाति करिब ३०–३५ वर्षअघि पहिचान भए पनि ओरिजा माइनुटा दुई वर्षअघि मात्र सिफारिस भएको हो । कैलालीमा यो प्रजाति पाइएको हो । अन्य प्रजाति भने प्रायः सबै क्षेत्रमा पाइएको छ,’ उनले भने । यसको संरक्षणका लागि नेपालका केही स्थानमा जलीय कुण्ड क्षेत्रमा जिन बैङ्कको समेत स्थापना गरेर काम भइरहेको छ । पहिला पहिला पूर्वपश्चिम राजमार्गका दायाँबायाँ खाल्डामा प्रशस्तै यो धान पाइन्थ्यो ।
‘पछि सडक विस्तार हुने बेलामा सबै नष्ट भयो । हामी निकुञ्ज क्षेत्रभित्र रहेका तालतलैया, जलीय कुण्डमा रहेका यो धानको प्रजातिलाई संरक्षण गर्नुपर्छ भनेर पनि लागेका छौँ,’ उनले भने । उनका अनुसार यो धान र हाल खेती भइरहेका अन्य धानबिच क्रसिङ गरेर उत्पादन बढाउन सकिन्छ ।
जङ्गली धान र नजिकैका खेतमा भएका अन्य धानमा आफसेआफ क्रसिङ हुन्छ र उत्पादनमा पनि वृद्धि हुन्छ । जलीय क्षेत्रको संरक्षण गरेर यो धानलाई संरक्षण, प्रवद्र्धन गर्नका लागि समुदायस्तरबाटै अग्रसर हुनु जरुरी रहेको डा.जोशीले बताए ।(गोरखापत्रबाट)
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार