हुम्ला : आन्तरिक राजस्व सङ्कलनमा कमी आएको छ । मालपोतबाट आउने दस्तुर र अन्य शीर्षकमा पनि कमी हुँदा लक्ष्य अनुसार राजस्व सङ्कलनमा कम भएको हो ।
वार्षिक लक्ष्यभन्दा ३३ दशमलव ०६ प्रतिशत राजस्व सङ्कलनमा कमी आएको सिमकोट गाउँपालिकाका लेखा अधिकृत बिशाल बोहराले बताए ।
लक्ष्यको ६६ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गर्न भने गाउँपालिका सफल भएक उनको भनाइ छ ।
सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा वार्षिक आन्तरिक राजस्व सङ्कलन लक्ष्य ८२ लाख राखेकोमा ५४ लाख ८९ हजार ८९६ रुपियाँ मात्र सङ्कलन भएको उनले बताए । यो राजस्व सङ्कलन जम्मा लक्ष्यभन्दा २७ लाख दश हजार १०४ रुपैयाँ कम हो ।
अघिल्लो आर्थिक वर्षमा सिमकोट गाउँपालिकाले एक करोड रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको थियो । लेखा अधिकृत बोहराले यसरी आन्तरिक राजस्व सङ्कलन कमी हुनुमा मालपोतबाट कम राजस्व आउनु र गाउँपालिकाले अवलम्बन गरेका करका दायरा अनुसार कर सङ्कलनमा तदारुकता नदेखिनु मुख्य कारण रहेको बताए ।
जिल्लाका अन्य ६ वटा गाउँपालिकाभन्दा सिमकोट गाउँपालिकाको राजस्व सङ्कलन दर भने निक्कै माथि रहेको छ । उक्त आर्थिक वर्षमा सिमकोट गाउँपालिकाले शीर्षकगत रुपमा सङ्कलन गरेको राजस्वमा सबै खाले सिफारिस दस्तुरमा सात लाख ५५ हजार २१२ रुपैयाँ, घरभाडाबाट छ लाख ८९ हजार ४७५ रुपैयाँ इजजतपत्र नवीकरण र जारीसहित दश लाख तीन हजार ७८९ रुपैयाँ, बिक्री वितरणबाट तीन लाख ६० हजार, पर्यटन शुल्कबाट दुई लाख ९४ हजार पाँच सय रुपैयाँ, रजिष्ट्रेशन र मालपोतबाट प्राप्त राजस्व एक लाख ७३ हजार ९१५ रुपैयाँ रहेको छ । त्यस्तै गत आवको बेरुजोबाट प्राप्त रकम ६४ हजार ७०२ रुपैयाँ, व्यवसाय दर्ता नवीकरण सात लाख एक हजार १५० रुपैयाँ र अन्य राजस्वबाट प्राप्त रकम १४ लाख ५१ हजार १५८ रुपैयाँ रहेको छ ।
सिमकोट गाउँपालिकाले अघिल्ला दुई आर्थिक वर्षमा भने वार्षिक लक्ष्यभन्दा बढी आन्तरिक राजस्व सङ्कलन गर्न सफल भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार