Listen LIVE

सञ्चालनको पर्खाइमा नेपालगञ्ज सिटी हल

नेपालगञ्ज : नेपालगञ्जमा ठुलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभा हल (सिटी हल) सञ्चालनको पर्खाइमा रहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा सङ्घीय सरकारले निर्माण गरेको सुविधा सम्पन्न सिटी हलको २०८१ फागुन १३ गत उदघाटन भए पनि हालसम्म सञ्चालन हुन सकेको छैन ।

३३ करोड ३४ लाख ७५ हजार ३७० लागतमा निर्माण भएको सिटी हल उदघाटन हुँदा यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको थियो । हल सञ्चालन हुन नसक्दा स्थानीयवासी निराश बन्न पुगेका छन् ।

सिटी हलमा दैनिकजसो कार्यक्रम हुँदा स्वाभाविक रूपमा चहलपहल बढ्ने भए पनि हाल कुनै गतिविधि नहुँदा सुनसान रहेको स्थानीयवासी समेत रहनु भएका नेपालगञ्ज–१४ का पूर्ववडाध्यक्ष ओमकार मिश्राले बताए ।

उनले सञ्चालनको जिम्मा लिएको नेपालगञ्ज उपमहानगरपालिकाले नगर सभा हल सञ्चालनका लागि विशेष चासोका साथ सहुलियत दर कायम गर्नुपर्नेमा जोड दिए । कुल ७९५ जना अट्ने क्षमताको हल सञ्चालनमा नआउँदा आफूहरू निराश भएको मिश्राको भनाइ छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको ठुलो रकम खर्च भएर बनेको सिटी हललाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय सरकारले चासो दिनुपर्ने बताए ।

'ठूलाठूला सरकारी कार्यक्रम होटलमा हुने गरेका छन्, उता सरकारी नगर सभा हल बन्द अवस्थामा छ,' उनले भने, 'नगर सभा हल सञ्चालनका लागि उपमहानगरपालिका नेतृत्वले विशेष चासो दिन जरुरी छ ।'

नेपालगञ्ज सिटी हलमा ठुलो हलसहित अन्य चार वटा साना हल, प्रशासनिक कक्ष, पार्किङलगायत पूर्वाधार निर्माण गरिएको छ । सभा हल निर्माण सम्पन्न भएपछि नेपालगञ्जमा ठुलो क्षमताका कार्यक्रम गर्न सहज हुने विश्वास गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सहरभन्दा टाढा भएकाले सिटी हलमा कुनै गतिविधि सञ्चालन हुन नसकेको बताए । सिटी हल निर्माण भएपछि दुई पटक नगरसभा र दुई पटक राजनीतिक दलका कार्यक्रमबाहेक अरू गतिविधि हुन नसकेको उनले जानकारी दिए।

'सिटी हल सञ्चालनको जिम्मा दिन बोलपत्र खोल्यौँ, तर ठाउँका कारणले होला कुनै प्रस्ताव नपरेपछि अहिले नगरपालिकाले नै मान्छे राखेर रेखदेख गर्दै आएको छ,' प्रवक्ता रिजालले भने, 'नगरको केन्द्रबाट टाढा भएकाले पनि कार्यक्रम हुन सकेनन् । अहिले कर्मचारीले भवन कुर्ने काम भएको छ ।'

प्रतिक्रिया