Listen LIVE

गुल्मी कारागार व्यवस्थापनमा चुनौती

गुल्मी : कारागार कार्यालय गुल्मीमा हाल १०२ जना कैदीबन्दी रहेका छन् । वि सं २०२४ सालमा स्थापना भएको तम्घासस्थित यस कारागारको क्षमता २० जना पुरुष र पाँच जना महिला गरी २५ जना कैदीबन्दी राख्न मिल्ने रहेतापनि हाल उक्त सङ्ख्यामा कैदीबन्दी रहेका गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले जानकारी दिए । 

जीर्ण भवन रहेको यस कारागारमा ९५ जना पुरुष, छ जना महिला र एक एक जना आश्रित छन् । जेलर पन्थीका अनुसार यस कारागारमा ७० जना कैदी र २५ जना थुनुवा पुरुष छन् पाँच जना कैदी र एक जना थुनुवा महिला छन् । यहाँ कर्तव्य ज्यान १९, जबरजस्ती करणी ५७, सवारी ज्यान छ, चोरी सात, बहुविवाह तीन, हातहतियार खरखजाना एक, आपराधिक उपद्रव एक, अप्राकृतिक मैथुन एक, भष्ट्राचार एक, बालयौन दुरुपयोग एक, ज्यानसम्बन्धी कसुर तीन जना कैदीबन्दी रहेका छन् । 

त्यसैगरी गौवध एक र वैदेशिक रोजगार कसुरमा एक जना कैदी रहेका छन् । अभद्र व्यवहार, ज्यान मार्ने उद्योग, कुटपिट, आपराधिक उपद्रव -आगोलागी) मुद्दामा हाल कुनै पनि कैदीबन्दी नरहेको उनले जानकारी दिए । यहाँ कदैबन्दी बढी भएको हुँदा कैदीबन्दीको आवासमा समस्या देखिएको छ । भौतिक पूर्वाधार र क्षमताको तुलनामा कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा कारागार व्यवस्थापनमा चुनौती समेत थपिएको छ । सुरक्षाकर्मीको आवास गृह जीर्ण हुनुका साथै कर्मचारीलाई आवास गृहको अभाव रहेको जेलर पन्थीले बताए । 

विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका व्यक्तिलाई सिप सिकाएर आय–आर्जनमा जोडिएको छ । सबै कैदीबन्दी आफ्नो कामा व्यस्त देखिन्छन् । बाँसबाट बनाइने मुढा बुन्ने गरिएको यस कारागारमा हाल फर्निचरसँगै ढाकासम्बन्धी कपडा बुन्ने उद्योग सञ्चालन गरिएको छ । कारगारलाई औद्योगिक ग्रामका रुपमा देख्न सकिन्छ । कैदीबन्दीको सिपलाई प्रयोग गरी उनीहरुलाई श्रमसँग जोडिएता पनि तालिम र काम गर्ने स्थानको अभाव रहेको जेलर पन्थीले बताए । 

निर्माण गरिएका सामग्रीहरुो बजार व्यवस्थापनमा समेत कठिनाइ दखिएको छ । लेख्न, पढ्न चाहना भएका कैदीबन्दीका लागि अध्ययनसँगै सोचाइमा परिवर्तन ल्याउनका लागि पुस्तकालय समेत स्थापना गरिएको छ । नयाँ पुस्तकको अभाव रहेको उनले बताए । खेलकुदमा पनि यहाँका कैदीबन्दीले रुचि देखाउने गरेका छन्। भलिबल, ब्याडमिन्टन, चेस, क्यारेमबोर्ड, लुँडो लगायतका खेलमा यहाँका कैदीबन्दीहरुले रुचि देखाउँछन् । 

यहाँ उद्यमको विकासका लागि कारगारको भित्री पर्खालको क्षेत्रफल बढाइएको छ । जीर्ण रहेको कारगारको भित्री तथा बाहिरी भाग र कोठाहरुमा रङरोगन, कार्पेटिङ तथा ढलान गरी सहज बनाइएको छ । कारागारमा पुरुष तथा महिला कैदीबन्दीको सुताइलाई व्यवस्थित गर्न त्रिपल टेकर खाटको व्यवस्था गरिएको छ ।

शौचालय, भान्सा र भित्र उद्यमको काम गर्न क्षेत्रफल कम भएको हुँदा निकै असहज भएको बताइएको छ ।

प्रतिक्रिया