Listen LIVE

भारी वर्षाको पूर्वानुमानपछि नेपालगञ्जका विद्यालय तीन दिन बन्द

नेपालगञ्ज : जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमान तथा शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको सूचनाका आधारमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका सबै विद्यालय तीन दिन बन्द गरिने भएको छ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार तराई क्षेत्रमा हुन सक्ने अत्यधिक वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने डुबानको जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

महाशाखाका उपसचिव गोर्खबहादुर थापाले हस्ताक्षर गरेको सूचनामा असोज ९ देखि ११ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत -निजी) विद्यालयमा पठनपाठन बन्द गर्न भनिएको छ।

अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ।

उपमहानगरपालिकाले विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा विद्यार्थीलाई सतर्क रहन र जारी सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।

वर्षाका कारण हुन सक्ने डुबान तथा अन्य जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्दको अवधिमा विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिनसमेत उपमहानगरपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया