बर्दिया : बर्दियामा चार हजार सात सय बालिकालाई एचपिभि खोप लगाइने भएको छ । पाठेघरको मुखमा हुने क्यान्सर रोगबाट बचाउनका लागि यही माघ २५ देखि २९ गतेसम्म खोप लगाउन थालिएको हो ।
विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाहरूलाई खोप लगाउन थालिएको हो । यस अघि खोप लगाउन छुटेका माथिल्लो कक्षाका बालिकाहरूलाई पनि खोप लगाइने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । विद्यालय बाहिर रहेका बालिकाहरूलाई माघ २९ गते नजिकको स्वास्थ्य केन्द्रमा खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक राजु खड्काले बताए । उनले १० देखि १४ वर्षसम्मका बालिकाहरूलाई खोप लगाउने जानकारी गराए । उनले लुम्बिनी प्रदेशभरी नै माघ २५ देखि २९ गतेसम्म एचपिभि खोप लगाउने योजना रहेको जानकारी गराए ।
गत वर्ष बर्दिया जिल्लामा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेको १० देखि १४ वर्षसम्मका २० हजार चार सय जनालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क रहेको छ ।
बर्दिया जिल्लामा विभिन्न स्थानमा गरिएको स्क्रिनिङ्गमा पाठेघरको मुखको क्यान्सर फेला पर्ने गरेको छ । नेपालमा हरेक दिन चार महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरको कारणले हुने गर्दछ भने हरेक वर्ष एक हजार तीन सय १३ जना पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुने तथ्याङ्क रहेको छ ।
भविष्यमा हुने पाठेघरको मुख हुने क्यान्सरबाट बचाउनका लागि खोप लगाउन थालिएको जिल्ला समन्वय समितिका अध्यक्ष सूर्यबहादुर विष्टले बताए । जिल्ला खोप समन्वय समितिको आयोजनामा गरिएको पत्रकारहरूसँग छलफल कार्यक्रममा उनले जिल्लाभरीमा लक्षित समूहका सम्पूर्ण बालबालिकाहरूलाई खोप लगाउन आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जिल्ला भरी नै सबै बालबालिकाहरू निर्धक्कका साथ खोप लगाउनका लागि खोपबारे प्रचार प्रसार गरिदिन पत्रकारहरूलाई आग्रह गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार