राप्तीसोनारी (बाँके) : राप्ती सोनारी गाउँपालिका, बाँकेले सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखेको छ।
भारी वर्षाको कारण हुनसक्ने प्राकृतिक विपद्को सम्भावनालाई ध्यान दिँदै सुरक्षित स्थान तयारी अवस्थामा राखेको हो। भारी वर्षापछि हुनसक्ने डुबान व्यवस्थापनलाई मध्यनजर गर्दै गाउँपालिकामा करिब दुई हजारसम्मलाई आश्रय दिन सकिने क्षमता रहेका सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए।
उनका अनुसार, राप्ती सोनारी गाउँपालिकामा अहिले पाँच वटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन्। थप दुई वटा भवनको निर्माण भइरहेको छ। पालिकामा वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडक जस्ता संरचनामा क्षति पुग्ने जोखिम छ।
'राप्ती सोनारी सबैखाले विपदबाट प्रभावित हुने गाउँपालिका हो, वर्षायाममा राप्ती नदी र विभिन्न खहरे खोलाको बाढीले मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने र विद्यालय, स्वास्थ्य संस्था तथा सडक जस्ता संरचनामा क्षति पुग्ने सम्भावना रहन्छ,' अध्यक्ष पौडेलले भने।'
गाउँपालिकाले यस वर्ष विपद् प्रतिकार्य योजना समेत तयार गरेको छ। बाढी तथा डुबान भए प्रभावितलाई उद्धार गरी सुरक्षित आश्रयस्थलमा राख्ने, स्वास्थ्य उपचार, खाद्यान्न तथा राहत उपलब्ध गराउनेदेखि मनोसामाजिक परामर्शसम्मका लागि तयारी गरिएको अध्यक्ष पौडेलले बताए।
उनका अनुसार, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ। वडा कार्यालय, वडा विपद् व्यवस्थापन समिति तथा गाउँपालिका विपद् व्यवस्थापन समितिमार्फत मनसुनअघि र मनसुनपछि आवश्यक तयारी तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार