Listen LIVE

नेपालगञ्जमा युवा विकास सम्मेलन शुरु

नेपालगञ्ज : नेपालगञ्जमा आजदेखि दुई दिने युवा विकास सम्मेलन शुरु भएको छ । सम्भावना नेपालको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको नेपालगञ्ज युवा विकास सम्मेलन २०८३ को नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गरे । 

सम्मेलन युवाको नेतृत्व विकास, शिक्षा, नवप्रवर्तन, सुशासन, पर्यटन, वातावरण तथा डिजिटल प्रविधिमा युवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्भावना नेपाललका अध्यक्ष साहिल अन्सारीले बताए । युवाको नेतृत्व र सहभागितामार्फत स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्य समेत सम्मेलनले लिएको उनको भनाई छ । 

सम्मेलनको उदघाटन सत्रमा बोल्दै नगर प्रमुख विष्टले युवाहरूलाई राष्ट्र निर्माणको प्रमुख शक्ति भएको उल्लेख गर्दै स्थानीय सरकार युवाको क्षमता विकास र नेतृत्व अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताए । उनले युवाको सक्रिय सहभागिता विना समृद्ध समाज निर्माण सम्भव नरहेको धारणा व्यक्त गरे । विष्टले युवाहरुले हरेक समयलाई उपयोगी बनाउनुपर्नेमा जाड दिए । उनले युवाहरुलाई सिर्जनशील र जिम्मेवार कर्म गर्न आग्रह गरे । उनले युवाहरु परिवर्तनको संवाहक भएको कुरा समयक्रमले पुष्टि गरिसकेकोले जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख गरे । 

विशिष्ट अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले युवाको सिर्जनशीलता र ऊर्जालाई सही दिशामा परिचालन गर्न आवश्यक रहेको बताए । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले युवामा सकारात्मकताको विकास हुन आवश्यक रहेको बताए । 

कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन सम्भावना नेपालकी महासचिव लक्ष्मी तिमिल्सिनाले गरेकी थिइन् । सचिव आत्मराम बर्माले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया