बर्दिया : करिब ६ महिनाअघि बर्दिया भन्सार कार्यालयका कार्यालय प्रमुख धनबहादुर शाही नेपालगन्ज सरुवा भए । सरुवा भएको छ महिना बितिसक्दा पनि भन्सार कार्यालय प्रमुखविहीन हुँदा मुद्दा लगायतका कामकाजमा असर परेको छ।
राजापुर मूल भन्सार कार्यालयअन्तर्गत २ छोटी सहित ३ वटा भन्सार कार्यालय सञ्चालनमा छन्। राजापुर मूल भन्सार, ताराताल र गुलरिया छोटी भन्सार सञ्चालनमा छन्। जिल्ला भर १६ जना हाल स्थायी दरबन्दीमा नायब सुब्बा ६ र कार्यालय सहयोगी ४ जना कार्यरत रहेको भन्सारका सूचना अधिकारी प्रमोद कुमार मेहताले बताए। मुद्दा लगायतका विषयमा निर्णय गर्दा नेपालगन्जबाट अधिकृत बोलाउनु परेको उनले बताए।
तारातालस्थित छोटी भन्सार कार्यालय दुई जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ। दुई जना कार्यालय सहयोगी भए पनि बेला–बेलामा पालैपालो बिदा लिएर जाने गरेका छन्। दुई वर्षदेखि ती कार्यालय सहयोगीको जिम्मामा कार्यालयका कामकाज हुने गरेको छ। यहाँ नासुको दरबन्दी भए पनि आवश्यक काम परेको समयमा गुलरियाबाट कर्मचारी खटिने गरेको सूचना अधिकारी मेहताले बताए।
भारतीय सीमा निशानगढाबाट यहाँ सामान आउने गरे पनि करिब १ किमी दूरीमा ताराताल छोटी भन्सार भएका कारण राजस्व असुल भने न्यून छ। वार्षिक लक्ष्य यस आवमा १५ लाख रहेको छ। जनशक्तिको अभावमा भन्सार छलेर सामान भित्र्याउँदा समात्न नसकेको बताए।
सीमामा सशस्त्र प्रहरीले सामान चेकजाँच गरी भन्सार पठाउने गर्छ, तर बीचबाटोबाट भन्सार छलेर लैजाँदा राजस्व भनेअनुसार उठ्न सकेको छैन। छोटी भन्सार ताराताल स्रोतले जनशक्ति अनुसार कर्मचारी खटिए वार्षिक झन्डै ५० लाख बढीको राजस्व असुल हुने दाबी गरेका छन्।
छ वटा छोटी भन्सार कार्यालय बन्द भएकोले यस नाकाबाट आयात–निर्यात हुने सामानको राजस्व शून्य रहेको छ। जिल्लाको पूर्वी पडेरिया, गणेशपुर र पश्चिम छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्ज नाकामा रहेका छोटी भन्सार कार्यालय द्वन्द्वकालमा अन्यत्र स्थानान्तरण भएपछि सञ्चालनमा छैनन्।
भन्सार कार्यालयले यस आर्थिक वर्षमा ३ करोड १ लाख ९३ हजार राजस्वको लक्ष्य रहेकोमा फागुन मसान्तसम्म १ करोड ९१ लाख ८२ हजार राजस्व असुल भएको जनाएको छ। अधिकांश राजस्व असुली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भन्सार छलेर ल्याएका सामान बरामद गरी बुझाएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार