Listen LIVE

बाँकेमा पहिलो दिन पाँच हजार किशोरीलाई लगाइयो एचपिभी खोप

नेपालगञ्ज : बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो चरणको खोप कार्यक्रम अनुसार नेपालगञ्ज, कोहलपुर, खजुरा र जानकीमा पहिलो दिन पाँच हजार १४ जना बालिका र किशोरीलाई खोप लगाइएको छ ।

सो क्रममा नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार ७७ जना, कोहलपुरमा एक हजार ५७४ जना, खजुरामा ९३४ जना र जानकीमा ४२९ जना बालिकालाई एचपिभी खोप लगाइएको खोप फोकल पर्सन श्रेष्ठले बताए ।

उनले जिल्लाका चारवटा पालिकामा पहिलो चरणमा २४ हजार ५८९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिन पाँच हजार १४ जनालाई लगाइएकाले अझै १९ हजार ५७५ बालिकालाई खोप लगाउन बाँकी रहेको बताए ।

यसअघि जिल्लाका करिब ३७ हजार बालिका र किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यका साथ खोप अभियान अभियान मङ्गलवारबाट सुरु गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज १ धम्बोझी माविमा अहिर टोलकी १० वर्षीया सिबाङ्गि सुनारलाई खोप कार्ड हस्तान्तरण गरी खोप अभियानको शुभारम्भ गरेका थिए ।

फागुन ६ गतेसम्म सञ्चालन गरिने सो अभियानअन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका किशोरी गरेर ३६ हजार ९५० बालिका तथा किशोरीहरुलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया