Listen LIVE

बर्दियामा औद्योगिक ग्रामको ६० प्रतिशत काम सम्पन्न

बर्दिया : स्थानीय तहमा औद्योगिक विकासलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीति अनुसार बर्दियाको गुलरिया नगरपालिकामा निर्माणाधीन औद्योगिक ग्रामको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ ।

गुलरिया नगरपालिका–८ स्थित सुर्जुटपरा क्षेत्रमा गत वर्षदेखि औद्योगिक ग्राम निर्माण सुरु गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ७० प्रतिशत र गुलरिया नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भइरहेको उक्त परियोजनाका लागि हालसम्म दुई करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।

नेपाल सरकारबाट दुई करोड रुपैयाँ र नगरपालिकाबाट ५० लाख रुपैयाँ लगानी गरी ११ बिघा क्षेत्रफलमा कम्पाउन्ड वाल निर्माणको काम सम्पन्न गरिनुका साथै औद्योगिक ग्रामभित्र कार्यालय भवन पनि निर्माण भइसकेको छ ।

गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवका अनुसार औद्योगिक ग्राम निर्माणका लागि करिब सात करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन -डिपिआर) तयार गरिएको छ । उनले आवश्यक बजेट व्यवस्थापन गर्दै आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।

नगरपालिकाका इन्जिनियर अर्जुन लम्सालले आगामी वर्ष औद्योगिक ग्रामभित्र खानेपानीलगायत आवश्यक पूर्वाधार निर्माण गरिने जानकारी दिए । पूर्वाधार निर्माण सम्पन्न भएपछि उद्योग स्थापना गर्न इच्छुक व्यवसायीलाई लगानीका लागि आह्वान गरिने उनको भनाइ छ ।

औद्योगिक ग्राम निर्माण गरिएको क्षेत्र २०७४ सालमा बबई नदीको बाढीबाट प्रभावित परिवार बसोबास गर्दै आएको स्थान हो । ती बाढीपीडित परिवारलाई नजिकैको सुरक्षित क्षेत्रमा स्थानान्तरण गरी नेपाल सरकारको स्वामित्वमा रहेको ११ बिघा जग्गामा औद्योगिक ग्राम निर्माण सुरु गरिएको हो ।

स्थानीयवासी राजेश अधिकारीले बाढीपीडितको उचित व्यवस्थापनसँगै सरकारले अघि सारेको औद्योगिक ग्राम निर्माणको नीति कार्यान्वयन हुने भएकाले स्थानीय समुदायले परियोजनालाई सकारात्मक रूपमा लिएको बताए । स्थानीयस्तरमा उद्योग स्थापना र रोजगारी सिर्जना गर्ने उद्देश्यसहित निर्माणाधीन औद्योगिक ग्रामले बर्दियाको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया