Listen LIVE

बाँकेमा डढेलो नियन्त्रण गर्न 'आगो नियन्त्रण दस्ता' सक्रिय

नेपालगञ्ज : बाँके जिल्लाका विभिन्न सरकारी तथा सामुदायिक वनमा डढेलो लाग्न थालेपछि सो नियन्त्रणका लागि गठन गरिएको 'आगो नियन्त्रण दस्ता' सक्रियरूपमा परिचालन गरिएको छ ।

डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न वन क्षेत्रमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रण गर्न १४ जनाको 'आगो नियन्त्रण दस्ता' गठन गरी आवश्यक तालिमसहित तयारी अवस्थामा राखेको थियो ।

हाल जिल्लाका १४ वटा वन क्षेत्रमा डढेलो लागेको र सो नियन्त्रणका लागि सामुदायिक वनका पदाधिकारी तथा उपभोक्तासँगै आगो नियन्त्रण दस्ता पनि सक्रिय रूपमा खटिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले बताए ।

उनका अनुसार डढेलो जोखिम क्षेत्र पहिचान गरी नियन्त्रणका लागि दस्ता परिचालन गरिएको हो । विशेष गरी शम्शेरगञ्ज क्षेत्र र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतको भूवरभवानी चक्ला वन क्षेत्रमा आगो नियन्त्रण दस्ता सक्रिय रूपमा खटिएको उनले जानकारी दिए ।

डढेलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसहित विभिन्न गतिविधि सञ्चालन भइरहेको र वन उपभोक्ता महासंघसँगको समन्वयमा कार्यक्रम अघि बढाइएको उनले बताए । साथै दुई हजार लिटर क्षमताको ट्याक्टर–आधारित वारुणयन्त्र पनि तयारी अवस्थामा राखिएको छ ।

प्रमुख गुप्ताले भने, 'हामीसँग उपलब्ध स्रोत र साधनका आधारमा डढेलो नियन्त्रणका लागि निरन्तर प्रयासरत छौँ । आगलागी भएको स्थानमा पुगेर दस्ताले आगो नियन्त्रण तथा उद्धारका काम गरिरहेको छ ।'

उनका अनुसार जिल्लामा नियुक्त 'अग्नि नियन्त्रण हेरालु' ले पनि आगलागी रोकथाममा योजनाबद्ध रूपमा काम गरिरहेका छन् । शम्शेरगञ्ज र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतका क्षेत्रमा ६–६ जना अग्नि नियन्त्रण हेरालु परिचालन गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

कार्यालयका अनुसार प्रमुख अग्नि नियन्त्रण हेरालुले फायरलाइन सफा गर्ने तथा यसको संरक्षण गर्ने काम गर्दै आएका छन् । जिल्लामा १०० किलोमिटर फायरलाइन रहेकोमा हाल त्यसलाई विस्तार गरी १२० किलोमिटर पुर्याइएको छ ।

शम्शेरगञ्ज क्षेत्रमा २५ लाख रुपैयाँको लागतमा २० हजार लिटर क्षमताको 'ओभरहेड वाटर ट्याङ्क' समेत निर्माण गरिएको छ, जसले डढेलो नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

डिभिजन वन कार्यालय बाँकेका अनुसार हाल जिल्लाका सरकारी र सामुदायिक गरी १४ वटा वनमा लागेको डढेलोले करिब ४ हजार ५०० हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।

प्रतिक्रिया