Listen LIVE

नेपालगञ्ज भन्सारद्वारा चालु आर्थिक वर्षमा तीन अर्ब राजस्व सङ्कलन

नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामा रहेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ। 

नेपालगञ्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को साउन र भदौ महिनामा दुई अर्ब ९९ करोड ४३ लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्ष २०८०।०८१ को सोही समयमा दुई अर्ब ८६ करोड ५२ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेकोमा चालु आर्थिक वर्षको सुरुका दुई महिनामा राजस्व सङ्कलन १४ करोड भन्दा बढी बढेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए। 

उनले चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ५० करोड ३० लाख ३४ हजार र भदौ महिनामा एक अर्ब ४९ करोड पाँच लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको बताए। 

नेपालगञ्ज भन्सारलाई हरेक महिनामा दुई अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि गत दुई महिनाको सङ्कलन हेर्दा हरेक महिनामा लक्ष्य भन्दा करिब ३० देखि ३५ प्रतिशत कम मात्र राजस्व सङ्कलन हुने सङ्केत देखिएको भन्सार कार्यालयले जनाएको छ। 

लक्ष्य भन्दा कम राजस्व सङ्कलन हुने मुख्य कारणमा चोरी पैठारी बढ्नु, सशस्त्र द्वन्द्वका बेला विस्थापित भएका जिल्लाका ६ वटा छोटी भन्सार पुनर्स्थापना नहुनु र आयात घट्दै जानु रहेको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया