Listen LIVE

मूल्यवृद्धिविरुद्ध भण्डारीद्वारा कोहलपुरमा विरोध प्रदर्शन

नेपालगञ्ज : समाजमा व्याप्त अन्याय, विकृति तथा भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भुम बहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिविरुद्ध कोहलपुर चौराहामा सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार मध्याह्नको चर्को घाममा अर्धनग्न अवस्थामा करिब आधा घण्टासम्म उनले सरकारको आर्थिक नीतिप्रति असन्तुष्टि जनाएका हुन् । भण्डारीले पेट्रोलियम पदार्थ, खाने तेल, चिनी लगायत अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको बताए ।

उनका अनुसार मूल्यवृद्धिको विरोधस्वरूप आफूले ढाड सेक्ने सांकेतिक प्रदर्शन गरेका हुन् । 'जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको छ, त्यसैको विरोधमा मैले ढाड सेक्ने प्रदर्शन गरेको हुँ,' उनले भने ।

नयाँ सरकार गठनसँगै जनतामा आशा र अपेक्षा बढे पनि सरकार व्यवहारमा प्रचारमुखी मात्र बनेको उनले आरोप लगाए । प्रदर्शनका क्रममा उनले सरकारको आलोचना गर्दै विभिन्न व्यंग्यात्मक पम्प्लेटसमेत प्रदर्शन गरेका थिए । पम्प्लेटहरूमा 'भाषण होइन, रासन राहत चाहियो', 'जनता बजारमा हाकार छ', 'चिनी छैन, तेल महँगो छ, जनता रुँदै छन' जस्ता नारा लेखिएका थिए ।

त्यसैगरी, 'सरकार बिचौलिया होइन, नागरिकको अभिभावक होÙ सरकारको काम व्यापार होइन, सुशासन र व्यवस्थापन हो' भन्ने सन्देशमार्फत उनले सरकारलाई जनउत्तरदायी बन्न आग्रह गरे ।

भण्डारीको उक्त प्रदर्शनले स्थानीयवासीको ध्यानाकर्षणसमेत गरेको थियो । उनले मूल्यवृद्धि नियन्त्रण गर्दै जनतामाथिको आर्थिक भार कम गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया