Listen LIVE

राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगञ्ज : बाँकेको राप्तिसोनारी गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ११५ जनाको नाक कान घाँटीको चेकजाँच र उपचार गरिएको छ । 

नेपालगन्जस्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र राप्तीसोनारी वडा ६ को संयोजनमा सुकमैया प्राथमिक विद्यालय नयाँबस्तीमा सञ्चालन गरिएको स्वस्थ्य शिविरमा साना बालबालिकादेखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकको नाक कान तथा घाँटीको उपचार गरिएको असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रकाश बसेलले बताए । 

उनले बाँकेको दुर्गम मानिने तथा सुविधा सम्पन्न अस्पताल नभएको राप्ती सोनारीमा यो शिविरबाट नाक कान घाँटीको बिरामीले घरमै बसेर निःशुल्क उपचार पाउँदा खुशी भएको बताए । 

वडा ६ का वडा अध्यक्ष लवराज खरेलले गाउँपालिकामा विभिन्न स्वास्थ्य शिविर भए पनि नाक, कान, घाँटीको स्वस्थ्य शिविर नभएकाले यसबाट धेरैले लाभ लिएको बताए । 

अन्य स्वास्थ्य शिविरहरु बेला–बेलामा भइरहे पनि नाक कान घाँटीकै लागि भने शिविर निकै कम हुने गरेकाले बढीभन्दा बढी वडावासीलाई सेवा लिन वडा अध्यक्ष खरेलले आग्रह गरे । 

सो अवसरमा भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले नाक कान घाँटी बिशेषज्ञ डा. बसेलको टीम दुर्गम गाउँमै उपचारका लागि पुगेकाले यस अवसरको लाभ लिन सबैसँग अनुरोध गरे । 

असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. बसेलले सहभागी सेवाग्राही विरामीलाई धैर्य गरेर उपचार प्रक्रियामा संलग्न हुन अनुरोध गरे । सो स्वास्थ्य शिविरमा ५ बर्षका बालबालिकादेखि ८० बर्षसम्मका ज्येष्ठ नागरिक सेवा लिन उपस्थित भएको डा. बसेलले बताए ।

७२ बर्षीया मालती थारुले पनि सो स्वास्थ्य शिविरबाट सोचेभन्दा बढीको सेवा पाएको बताइन् । त्यस्तै, ७५ बर्षिय ज्येष्ठ नागरिक पल्टु चौधरीले डा. बसेलको टोलीलाई गाउँमै आएर उपचार गरेकोमा धन्यवाद दिए । 

सो शिविरमा स्वास्थ्य केन्द्रका कर्मचारी रितु पाण्डे, सबिना चौधरी, ललितराम थारु लागायत स्थानीय नागरिक अगुवा बिनकुमार घर्ती र शिक्षिका तिला घर्तिले  सर्वसाधारणको उपचारमा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया