बर्दिया : अत्यधिक गर्मी बढेपछि बर्दियाका पाँच पालिकाका विद्यालयमा बिहानी कक्षा सुरु गरिएको छ । जिल्लाका आठ पालिकामध्ये पाँच पालिकाले बिहानको समयमा कक्षा सञ्चालन थालेका हुन् ।
दिउँसो तातो हावा चल्न थालेपछि विद्यालयहरू बिहान ६ देखि ११ बजेसम्म सञ्चालन गर्न थालिएको हो । गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि बिहानी कक्षा सुरु गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताए ।
बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिकामा बिहानी कक्षा सुरु भइसकेको छ । राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा भने समस्या भएका विद्यालयमा पाठ्यघण्टा नघटाई बिहानी कक्षा सञ्चालन गर्ने जिम्मा विद्यालयलाई नै दिइएको छ । विद्यालयको अवस्था हेरेर कक्षा सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले बताए ।
बाँसगढी, बारबर्दिया र मधुवन नगरपालिकाले भने हालसम्म विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन गरिरहेका छन् । बिहानी कक्षा सञ्चालन गर्नेबारे हालसम्म कुनै निर्णय नभएको बाँसगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख छत्र शाहीले बताए । उनका अनुसार हप्तामा दुई दिन बिदा दिइएकाले बिहानी कक्षा सञ्चालन गर्दा पठनपाठनका लागि समय अपुग हुने अवस्था छ ।
बर्दियालगायत पश्चिम तराईका जिल्लामा केही दिनयता अत्यधिक गर्मी बढेको छ । धेरै विद्यार्थी संख्या भएका कक्षा तथा टिनको छाना भएका विद्यालयमा दिउँसो कक्षा सञ्चालन गर्न कठिनाइ भइरहेको शिक्षकहरूले बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार