नेपालगञ्ज : सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा परेका छन् । आँख्लाको निकासी कर शतप्रतिशत भएकाले रु २५ करोड बराबरको १२ टन सल्लाको आँख्ला गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी सङ्घ, नेपालगञ्जका अध्यक्ष टङ्क शर्माले बताए ।
'भन्सार निकासी छुट भए सल्लाको आँख्ला भारत निकासी हुन्छ, व्यवसायीले लगानी गरेर गोदाममा थन्क्याएका छन,' उनले भने ।
अध्यक्ष शर्माले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताए । करिब ३० वर्ष पुरानो सल्लाको रुखबाट त्यस्तो आँख्ला निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्व दिने गरिएको उनको भनाइ छ । सो सल्लाको आँख्ला डोटी, डडेल्धुरा, बैतडीलगायत जिल्लाबाट नेपालगञ्ज आउँछ ।
यसबाहेक जटामसी, अमला, खिरौला, दालचिनी पनि निकासी हुन सकेको छैन । यी जडीबुटी भारतमा सूचीकृत नभएका कारण निकासी हुन नसकेको उनले बताए । अध्यक्ष शर्माले नेपालमा जडीबुटीबाट प्रशस्त सम्भावना रहे पनि त्यसतर्फ ध्यान र चासो पुग्न नसकेको औँल्याउँदै नेपालको घरघरमा जडीबुटीको उत्पादन भइरहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार