Listen LIVE

हस्तकलाका सामग्री बिक्रीबाट आयआर्जन

दाङ : दाङमा थारु समुदायका महिलाले हस्तकलाका विभिन्न सामग्री बनाएर आयआर्जन गर्न थालेका छन् । कुनै समय घरको काममा व्यस्त हुने थारु समुदायका महिलाहरु पछिल्लो सिप सिकेर व्यवसायमा जोडिन थालेका छन् । 

महिलाले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै परम्परागत सीप संरक्षणसँगै व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । सीपका माध्यमबाट आयआर्जनमा जोडिएपछि घरको दैनिकी चलाउन सहजतासँगै थोरै भए पनि बचत गर्ने बानीको विकास भएको लमही नगरपालिका–५ निवासी सरिता चौधरी बताउँछिन् । हस्तकलासम्बन्धी सिप सिकेर सरिता हस्तकला उद्योग स्थापना गर्नुभएकी चौधरीले कला संस्कृतिको संरक्षणसँगै आफूहरूजस्ता महिलाका लागि आम्दानीको स्रोत बनेको बताउँछिन् ।

उनका अनुसार हस्तकलाका सामग्री उत्पादन गरेर महिनामा २०–२५ हजारसम्म आम्दानी गर्दै आएको बताउनुभयो । घरको कामसँगै व्यवसाय गर्न पाउँदा सहजता भएको भन्दै चौधरीले भनिन्, “घरमै बसेर सामग्री उत्पादन गर्न सकिने बिक्रीमा पनि समस्या नहुँदा आम्दानी पनि राम्रै भइरहेको छ ।“ 

हस्तकलासम्बन्धी काम गर्दा हराउँदै गएका हस्तकला सीपको संरक्षणसँगै आफू जस्ता महिलाहरुलाई रोजगारीसमेत मिलेको उनी बताउँछिन् । 

उनका अनुसार ढकिया, टोकरी, पेनहोल्डर, हटकेस, थाल टोकरी, ट्रेलगायतका सामग्री बनाउन सके बिक्रीमा समस्या छैन । उत्पादन गरेका सामग्रीहरु खासगरी काठमाडौं पठाउने गरेको भन्दै पछिल्लो समय जिल्लामा हुने मेला, महोत्सवलगायतका कार्यक्रममा पनि लगेर बिक्री गर्ने गरेको सरिता बताउँछिन् । 

हस्तकला व्यवसाय नगर्दा घरको काम सकेर फुर्सदिलो भएर बस्नुपर्ने भएपनि काम सुरु गरेपछि पछिल्लो समय फुर्सदमा बस्न नपरेको भन्दै उनले भनिन, “घरमा काम नहुँदा पहिले दिनभर बसेर जाने गरेको थियो तर अहिले सामग्री बनाउन थालेपछि समय बितेको पत्तै हुँदैन ।“

चार वर्षअघि सीप सिकेर हस्तकलाका सामग्री उत्पादनमा लागेकी सोही ठाउँ निवासी सुमित्रा चौधरीले हस्तकलासम्बन्धी उत्पादन गरेका सामग्री बिक्री गरेर महिनामा २० हजार आम्दानी गर्ने गरेको बताउँछिन् । घरको काम गरेर बचेको फुर्सदको समयमा आफूले सामग्री बनाउने र त्यही बिक्री गरेर आम्दानी गर्दै आएको बताइन् । 

हस्तकलाका सामग्रीको बजार राम्रो भएको र बनाउनलाई दुःख पनि नहुने भएपछि घरमै उत्पादन गर्ने गरेको उनले बताइन् । हस्तकलाका सामग्री उत्पादन गर्ने महिलाहरुको समूह रहेको उक्त समुहका माध्यमबाट आफूले बनाएका ढकिया, टोकरी, हटकेश, पेनहोल्डर, टोपीलगायतका सामग्रीहरु बिक्री गर्ने गरेको उनी बताउँछिन् ।  

काठमाडौंसँगै कतिपय सामग्री विदेशसम्म जाने भएका कारण धेरै सामग्रीहरु आफुले काठमाडौं पठाउने गरेको भन्दै उनले भनिन, “दाङमा उत्पादन भएका धेरै हस्तकलाका सामग्रीहरु काठमाडौं पठाउने गरेका छौं । त्यता पठाउने भएन भने मेला महोत्सवमा लगेर बिक्री गर्ने गर्दछौ ।“ हस्तकलाका सामग्रीहरु दुई सयदेखि पाँच÷छ हजारसम्मका हुने गरेको भन्दै उनले उत्पादन गरेको सामग्रीको आकार र मिहिनेत अनुसार मूल्य निर्भर रहने बताइन् । सानो आकार र धेरै मेहनत नपर्ने सामग्रीहरु कम मूल्यमा बिक्री हुने भए पनि ठुला र आकर्षक सामग्रीहरुको मूल्य बढी हुने गरेको भन्दै चौधरीले भनिन, “हेर्दा सामान्य र सानो लाग्ने भए पनि मेहनत धेरै परेको हुन्छ, त्यही अनुसार हामीले मूल्य राख्ने गरेका छौ । सामग्रीको मूल्य बढी भयो भन्नुहुन्छ तर हाम्रो मेहनत अनुसार मूल्य नै हुँदैन ।“

हस्तकला सामग्री उत्पादनमा समस्या नभए पनि कच्चा पदार्थ भने कपिलवस्तुका विभिन्न ठाउँबाट ल्याउनुपर्ने बाध्यता भएको सरिता बताउँछिन् । घरका लागि आवश्यक पर्ने सामग्री उत्पादन गर्न बाहिरबाट सामग्री ल्याउन नपर्ने भए पनि व्यावसायिकरुपमा हस्तकलाका सामग्री उत्पादन गर्नेलाई बाहिरबाट ल्याउनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया