Listen LIVE

जमुनाहा नाकामा कोरोना जाँच गर्ने एन्टिजेन किटको अभाव

नेपालगञ्ज : भारतमा फैलिरहेको कोरोनालाई दृष्टिगत गर्दै नेपालमा पनि सतर्कता अपनाउनु पर्ने बेलामा बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा कोरोना जाँच गर्ने किट नभएको पाइएको छ । नेपालगञ्ज नाकाबाट दैनिक तीन–चार हजार नेपाली कामका लागि भारत जान्छन् । सोही संख्यामा भारतबाट घर फर्किन्छन् ।

कामका लागि भारत आउजाउ हुने प्रमुख नाका भएर किनमेल गर्न जानेको संख्या पनि अत्यधिक छ । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार दैनिक ५–८ हजार नेपाली किनमेलका लागि भारतीय सीमा बजार रुपइडिहा जान्छन् । नेपालगञ्ज नाका भएर औषधि उपचार गराउन जानेको संख्या पनि कम्ति छैन ।

भारतको विभिन्न स्थानबाट स्वदेश फर्किने नेपालीको स्वास्थ्य जाँच गर्न जमुनाहा नाकामा हेल्थ डेस्क छ । कोरोना कालमा स्थापना भएको हेल्थ डेस्कमा लुम्विनी प्रदेश र नेपालगन्ज उपमहानगरकाका स्वास्थ्यकर्मी कार्यरत छन् । कोरोना कालमा भारतबाट आउने नेपालीको एन्टिजेन किटमार्फत कोरोना जाँच गरिए पनि पछिल्लो समय औलो, एचआइभी र क्षय रोग परीक्षण हुँदै आएको छ ।

भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण पुष्टि भइरहेका बेला नेपालगन्जको जमुनाहा नाकास्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मी भने फुर्सदिला छन् । सरकारले कोरोना जाँच गर्ने एन्टिजेन किट उपलब्ध नगराउँदा उनीहरु फुर्सदिला भएका हुन् ।

सरकारले एन्टिजेन किट उपलब्ध नगराएका कारण कोरोना जाँच गर्न नसकिएको जमुनाहा हेल्थ डेस्ककी इन्चार्ज सुनिता मौर्याले बताइन् । उनले भारतका विभिन्न सहरमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि संक्रमण फैलिने खतरा बढेको बताइन् ।

उनले अन्य प्रदेशले भारतसँग सिमा जोडिएका मुख्य नाकामा एन्टिजेन किटमार्फत कोरोना परीक्षण गरे पनि नेपालगञ्जस्थित जमुनाहा हेल्थ डेस्कले अहिलेसम्म परीक्षण गर्न नसकेको स्पष्ट पारिन् । ‘कोरोना जाँच गर्न प्रयोग हुने एन्टिजेन किट छिटो आवस् भन्ने हामी चाहन्छौँ । जाँच भए मात्र कोरोनाको अवस्था जान्न सकिन्थ्यो,’ उनले भनिन्, ‘जाँच भएको भए अन्य नाका जस्तै जमुनाहा नाकामा पनि कोरोना संक्रमित फेला पर्थे होला ।’उनले एन्टिजेन किटको ब्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग माग गरेकी छन् । ‘हामी कोरोना जाँच गर्न आत्तुर छौँ । किट छिटो पठाउने व्यवस्था मिलाउनु परयो,’ मौर्याले भनिन् ।

उनले कोरोना कालमा जाँच गर्दा कोरोनाका धेरै संक्रमित फेला परेको बताइन् । कोरोनाको संक्रमण फैलिएको ठाउँबाट नेपालीहरु आउने गरेको बताउँदै उनले जाँच नहुँदा नेपालमा जोखिम बढेको बताइन् । ‘भारतसँग सिमा जोडिएका जिल्लामा त जोखिम बढेकै छ । लुम्विनी, कर्णाली र सुदूरपश्चिममा समेत कोरोनाको जोखिम बढेको छ,’ उनले भनिन् ।

प्रदेशमा कोरोना जाँचका लागि प्रयोग हुने एन्टिजेन किट नभएको लुम्विनी स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले बताए । उनले लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालय आपूर्ती महाशाखामा समेत एन्टिजेन किट नभएको बताउँदै उनले माग गर्ने तयारी भएको बताए । उनले एक हप्ताभित्र एन्टिजेन किट आवश्यकता अनुसार जिल्ला–जिल्लामा पठाउने बताए । ‘आपूर्ती महाशाखासँग आइतवार माग गर्छौँँ । त्यसपछि आपूर्ती महाशाखाले ब्यवस्था गरेपछि जिल्लामा पठाउँछौँ,’ उनले भने ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले पनि लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयसँग एन्टिजेन किट माग गरेको बताए । उनले भारतमा कोरोना संक्रमण दर बढेपछि नाकामा पनि कोरोना जाँच गर्नुपर्ने देखिएपछि एन्टिजेन किट माग गरेको बताए । ‘कोरोना संक्रमण नदेखिएकोले मागेका थिएनौँ । लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरेका छौँ । आउने वित्तिकै जाँच शुरु गर्छौँ,’ उनले भने ।

प्रतिक्रिया