Listen LIVE

निर्देशनविपरीत रकम असुल्दै रास्कोट नगरपालिका

कालीकोट : जिल्ला प्रशासन कार्यालय कालीकोटले रास्कोट नगरपालिकालाई ब्यारियर राखेर यातायातका साधनबाट रकम नउठाउन गरेको निर्देशन नगरपालिकाले अवज्ञा गरेको छ । नगरपालिकाले नगरमा प्रवेश गर्ने यातायात र मालवाहक गाडीबाट शुल्क असुल्ने गरेको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले यातायातका साधनबाट शुल्क नलिन निर्देशन गरेको थियो तर नगरपालिकाले प्रशासनको परिपत्रलाई बेवास्ता गर्दै शुल्क असुल्ने काम जारी राखेको छ । 

दाताको सहयोगमा ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको रास्कोट नगरपालिकाको मूल सडकमा नगरपालिकाले कर उठाउनु उचित नभएको सर्वसाधारण बताउँछन् । 

स्थानीय समाजसेवी जन्मदेव बरालले प्रशासनिक निकायलाई नगरपालिकाले नटेर्नु दुःखद भएको बताउँदै यसबाट सर्वसाधारणले पीडा पाएको बताए । यातायात व्यवसायी उदयराम जैसीले वैदेशिक सहयोगमा निर्माण भएको सडकमा समेत यसरी शुल्क असुल गर्न नहुने दाबी गरे । उनले ब्यारियर राखेर कर उठाउन बन्द गर्न आग्रह गरे ।  नगरपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने मालवाहकप्रति ट्रक, ट्याक्टरबाट पाँच सय रुपैयाँ र अन्य यातायातका साना गाडीबाट दुई सय रुपैयाँ शुल्क लिने गरेको छ ।

प्रतिक्रिया