नेपालगञ्ज : सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत रहेको सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ताले आफ्नो २५औं स्थापना दिवस (रजत महोत्सव) विविध कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ लगायत विभिन्न सुरक्षा निकायका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, प्रशासनिक अधिकारी तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रजत महोत्सवको अवसर पारेर शिक्षालयले फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, शारीरिक सहिष्णुता, हाजिरी जवाफ तथा अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको जनाएको छ । विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले सशस्त्र प्रहरी संगठनले राष्ट्रको सुरक्षा, विपद् व्यवस्थापन तथा शान्ति सुरक्षामा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ दक्ष, अनुशासित र सक्षम जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका थिए ।
शिक्षालयले स्थापना कालदेखि हालसम्म योगदान पु¥याउने पूर्व समादेशक, प्रशिक्षक, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी, स्थानीय निकाय तथा सहयोगी संघसंस्थाप्रति आभार व्यक्त गरेको छ । कार्यक्रममा नेपाल एपीएफ स्कुल कोहलपुरका विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको समापनमा आयोजकले सहयोगी सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ प्रभावकारी तालिम सञ्चालन र संगठन सुदृढीकरणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार