Listen LIVE

किरण नालामा चार लेनको पुल निर्माण हुँदै

नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नालामा थप पुल निर्माण सुरु भएको छ ।

चार लेनको सडक रहेकोमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि थप गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । 

भण्डारीले भने, 'सो स्थानमा सवारी दुर्घटनाका घटना बढ्न थालेपछि नयाँ पुल निर्माण कार्य अघि बढाइएको हो । दुई वटा पुल भएपछि चार लेन सडकमा सवारी आवागमनमा थप सहजता हुने छ ।'

करिब चार करोड ५० लाखको लागतमा पुल निर्माण कार्य सुरु भएको हो । हाल धमाधम जग निर्माणको काम भइरहेको छ । केही वर्षअघि मात्र निर्माण भएको दुई लेन सवारी सञ्चालन हुने पुल साँघुरो भएपछि सोही स्थानमा दुई लेनको अर्को पुल निर्माण सुरु गरिएको छ । 

पुरानो दुई लेनको पुल यथावत राखेर नयाँ थप दुई लेनको पुल बनाउन लागिएको छ । आगामी असारभित्रै पुल निर्माण सक्नेगरि काम भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ । 

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिकामा पर्ने चपला नालामा रहेको पुल पनि चार लेनको बनाइने योजना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया