Listen LIVE

आफ्नै श्रीमती र छोराद्वारा शाहीकोे हत्या

कालीकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा एक व्यक्ति आफ्नै श्रीमती र छोराले हत्या गरेका छन् । 

सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ४ घर भई हाल सोही गाउँपालिकाको वडा नं. ९ मा बस्ने ४८ वर्षीय सूर्यबहादुर शाहीको श्रीमती र छोराले हत्या गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, गत जेठ २७ गते साँझ अन्दाजी ८ः३० बजेको समयमा सूर्यबहादुर शाही सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ९ स्थित सुपेचौर गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका थिए । 

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक शाहीकै १८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया श्रीमती राजकला शाहीले सोही मिति र स्थानमा उहाँको टाउकोमा ढुङ्गाले प्रहार गरी कर्तव्य गरी मारेको कुरा खुलेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमती र छोरा दुवै जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आमा छोरालाई जिल्ला अदालत कालीकोटबाट सात दिनको म्याद थप गरी हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए । 

शाहीको मृत्यु भएको स्थानमा बगेको रगतले उहाँको हत्या भएको अनुमान प्रहरी र स्थानीयले गरेका थिए । घटना सङ्कास्पद भएकाले पहिलो अनुसन्धानको घेरामा श्रीमती र छोरा परेका थिए ।

आमा छोरासँगको अनुसन्धानबाट हत्या उनिहरूले आफैले गरेको प्रहरी समक्ष स्वीकार गरेपछि थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको प्रहरीले जानकारी गरेको विज्ञप्तीमा उल्लेख छ । घटना भएको भोली पल्ट शाहीको शव फेला भएको थियो ।

प्रतिक्रिया