Listen LIVE

टेलिकमको परिसरबाटै ठुलो मात्रामा टेलिफोनको तार चोरी

नेपालगञ्ज : नेपाल टेलिकमको नेपालगञ्जस्थित उपप्रादेशिक निर्देशनालय परिसरमा थन्काइएको ठुलो मात्राको टेलिफोन कपर तार चोरी भएको छ । नेपालगञ्ज १० स्थित निर्देशनालय पछाडी राखिएको डिस मेन्टल (लिलाममा लैजान पर्ने) तार मंगलवार राती चोरी गरिरहेकै अवस्थामा देखिएपछि योजनावद्ध ठुलो चोरीको घटना सार्वजनिक भएको हो । 

मंगलवार रातीको घटनापछि बुधबार निर्देशनालयको टोली उत्तर तर्फको निजी बन (झाडी)मा पुगेपछि लुकेर महिनौदेखि तार (तामा) संकलन गरेर लगिएको पत्ता लागेको हो । कहिलेदेखि कति मात्रामा तार चोरिएको एकिन नभएपनि १० क्वीन्टल बराबरको तार चोरिएको निर्देशालयको अनुमान छ । 

निर्देशनालयका सूचना अधिकारी मुक्ती ज्ञवालीका अनुसार महिनौंदेखि तयारीका साथ नियमित जसो झाडीमा बसेर तारहरु चोरिएको पाइयो । झाडीमा तारहरु यत्र तत्र छरिएको, लत्ताकपडा, पानीको बोतल फालिएको अवस्था छ । केही दिन अघि केवल (ठुलो) तार चोरिरहेको कार्यालयको सीसीटीभी क्यामेरामा देखिएपछि चनाखो बनेको निर्देशनालयले गएराती सुरक्षागार्डसहित चोर छोप्ने प्रयास गरेको हो । 

तर प्रहरीले वुद्धीमता नदेखाएछि चोर भाग्न सफल भएका हुन् । चोर आएपछि गार्डले सवा १२ वजे नै जिल्ला प्रहरी कार्यालय बाँकेको १०० नं. मा कल गरेर सहयोग मागेपछि त्यहाँबाट वडा प्रहरी वडाबाट नगर भवन प्रहरीलाई खवर गरियो । सुरक्षा गार्डका अनुसार दुई जना प्रहरी मात्रै आए तर चोर पक्रिन जाँदा लाईट बालेर जाने प्रयास भएपछि चोरहरु देवाल कुदेर भाग्न सफल भए ।   

प्रहरीको सहयोग लिन खोज्दा पनि प्रहरी सचेत र जिम्मेवार नभईदिएपछि चोरहरु फरार मात्र भएनन् घटना नै थप रहस्मय रहयो । 

काम नलाग्ने तार चोरी भएकाले यो घटना बाहिर ल्याउन नहुने निर्देशनालयका उपनिर्देशक निरज राजवंशीको भनाई थियो । 

तर यो घटना सुरक्षा व्यवस्थामाथिको ठुलो चुनौती पनि हो । उपनिर्देशक राजवंशीसहितको टोलीले आजै प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र बाँकेका प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरलाई भेटेर घटनाको जानकारी गराउँदै ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया