Listen LIVE

भादा नदी पुलको मर्मत कार्य शुरु

बर्दिया : निर्माण सम्पन्न भएको एक वर्षमै भत्किन थालेको भादा नदी पुलको मर्मतसम्भार शुरु भएको छ । गत २०८१ वैशाखमा निर्माण सम्पन्न भएको पुल भत्किन थालेपछि मर्मत शुरु गरिएको हो ।

पुलको ढलान फुटेर सरिया देखिएपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए । पुलको बिच भागमा ढलान फुटेर खाल्डोसमेत परेको थियो । अहिले पुलको एक लेनमा खाल्डो पुर्ने र माइक्रो कंक्रिटिङ विधिबाट मर्मत गर्ने काम भइरहेको छ । उक्त काम पूरा भएपछि अर्को लेनमा मर्मत गरिने निर्माण कम्पनीले जनाएको छ ।

लामो समयदेखि पुल सेक्टर कार्यालय, नेपालगञ्जले पुलको मर्मतका लागि पत्राचार गरे पनि निर्माण कम्पनीले बेवास्ता गर्दै आएको थियो । अहिले बल्ल पुलको मर्मत कार्य सुरु भएको पुल सेक्टर कार्यालय नेपालगञ्जका सूचना अधिकारी रामकिसुन चौधरीले बताए । उनका अनुसार पटक–पटकको ताकेता र सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि कम्पनीले मर्मतको काम अघि बढाएको हो ।

तीन सय मिटर लम्बाइको भादा नदी पुल श्री लामा स्वच्छन्द सपना जेभी, ललितपुरले निर्माण गरेको हो । कम्पनीले हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगञ्ज सडकखण्डमा बबई र मान नदीमा पुल निर्माण गरेको थियो । दुवै पुलको निर्माण २०८१ सालमा सम्पन्न भएको थियो ।

गत वर्ष मान नदी पुलको मर्मतसम्भार गरिएको थियो भने अहिले भादा नदी पुलको मर्मत भइरहेको छ । दुवै पुलको मर्मत अवधि २०८६ वैशाख २९ गतेसम्म रहेको छ । दुईवटा पुल निर्माणको लागत ६६ करोड ८४ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया