Listen LIVE

लोपोन्मुख खाँडो नाचको बाँकेमा संरक्षण प्रयास

नेपालगञ्ज : नेपालको कर्णाली प्रदेशअन्तर्गत पर्ने जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नम्बर–५ लगायत केही सीमित क्षेत्रमै नाचिने ‘खाँडो नाच’ सांस्कृतिकरूपमा विशिष्ट पहिचान बोकेको लोकनृत्य हो।

हातमा धारिलो हतियार लिएर नाचिने यो परम्परागत नाच पछिल्लो समय नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ। यही चिन्ताजनक अवस्थालाई मध्यनजर गर्दै जाजरकोटी समाज बाँकेले यसको संरक्षण तथा प्रवद्र्धनमा अग्रसरता देखाएको छ।

खाँडो नाच विशेषगरी जाजरकोटको कुशे गाउँपालिकाको वडा नम्बर ५ का खुर्पा, ठिमे र दमदला क्षेत्रमा मात्रै सीमित छ। यो नाचमा सहभागीले हातमा तरबार, खुकुरी, बन्चरो जस्ता धारिला हतियार बोकेर युद्धकला झल्काउने शैलीमा नाच प्रस्तुत गर्छन्। जाजरकोटी समाज बाँकेका सदस्य चन्द्र बहादुर बुढाका अनुसार, यो नाचको उत्पत्ति ऐतिहासिक युद्धपछि विजय उत्सवको प्रतीक स्वरूप भएको मानिन्छ। “पुर्खाहरूले युद्धमा विजय प्राप्त गरेपछि शान्ति स्थापनाको संकेतस्वरूप यो नाच सुरु गरेका थिए,” बुढाले बताए।

खाँडो नाचमा प्रयोग हुने हतियारका कारण यो नाच सबै स्थानमा प्रदर्शन गर्न कानुनी अनुमति आवश्यक पर्ने बाध्यता रहेको बताइन्छ। तैपनि यसको कलात्मक र सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै यसको संरक्षण अपरिहार्य भएको जाजरकोटी समाज बाँकेका अध्यक्ष किशोर भण्डारी बताउँछन्। “नयाँ पुस्ता यो नाचबाट विमुख हुँदै गएको देखेर हामीले यसको पुनर्जीवनको पहल गरेका हौं,” भण्डारीले भने।

यस नाचको संरक्षणमा स्थानीय सरकारको समेत सहयोग आवश्यक रहेको स्थानीय जनप्रतिनिधि तारा सिंहको भनाई छ। उनले “यो हाम्रो सांस्कृतिक सम्पत्ति हो, स्थानीय तहले संरक्षण र प्रशिक्षण कार्यक्रममार्फत यसको जीवन्तता कायम गर्न आवश्यक छ भने।

खाँडो नाचसँगै प्रस्तुत गरिने ‘ख्याली नाच’ पनि अहिले लोप हुने अवस्थामा पुगेको छ। यी दुवै नाच जाजरकोट जिल्लाको मौलिक संस्कृति बोकेका अमूल्य सम्पत्ति हुन्। जाजरकोटी समाज बाँकेले आगामी दिनमा खाँडो नाचसम्बन्धी प्रदर्शनी, प्रशिक्षण तथा सांस्कृतिक मेला आयोजना गर्ने तयारी गरेको जानकारी दिएको छ।

संस्कृति जोगाउने जिम्मेवारी समाजकै हो भन्ने मान्यताका साथ अघि बढेको यो अभियानले जाजरकोटको खाँडो नाच पुनः जीवन्त हुने आशा पलाएको छ। यदि युवापुस्ताले आजको दिनमा आफ्नो मौलिक कला–संस्कृति चिन्न सकेनन् भने यस्ता ऐतिहासिक नाच–गान इतिहासमै सीमित हुने खतरा बढ्नेछ। यसैले, संरक्षणको यो प्रयास समय सापेक्ष र स्वागतयोग्य मानिएको छ।

प्रतिक्रिया