नेपालगञ्ज : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले नेपाल आयात हुन लागेको ३० टन भन्दा बढी दलहन नाकामै रोकेको छ । कशौधन ट्रेडर्स नेपालगञ्जले भारतबाट आयात गरेको ९ हजार ६०० केजी चनाको दाल खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले परीक्षण गर्दा क्षतिग्रस्त दाना, किराले क्षति पुर्याएको दाना पाइएको हो ।
क्षतिग्रस्त दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएकाले आयात गर्न नमिल्ने भन्दै नेपालगञ्ज भन्सार कार्यालयलाई प्रमाणीकरण कार्यालयले प्रतिवेदन पठाएको छ । यस्तै नेन्शी सप्लायर्स दाङले भारतबाट आयातको लागि नेपालगञ्ज भन्सार नाकामा ल्याएको २३ हजार २८० केजी राजमाको दाल पनि रोकिएको छ ।
प्रमाणीकरण कार्यालय नेपालगञ्जले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगञ्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको हो । विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ लागु भइसकेपछि नाकामा खाद्य गुणस्तर परीक्षण बढेको छ ।
ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुपर्नेछ । उक्त स्विकृती अनुसार नाकास्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले परीक्षण गर्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार