नेपालगञ्ज : क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिसप्लाटिन औषधी चार महिनादेखि आपूर्ति हुन नसक्दा बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा बिरामीको उपचार प्रभावित भएको छ । किमोथेरापीमा नियमित प्रयोग हुने यी औषधी अभाव भएपछि बिरामीका आफन्तले भारतबाट औषधी ल्याउनुपर्ने बाध्यता भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईका अनुसार चार महिनादेखि अस्पताल फार्मेसीमा कार्बोप्लाटिन र सिसप्लाटिन उपलब्ध हुन सकेको छैन । अस्पताललाई यी औषधी आपूर्ति गर्दै आएको काठमाडौँस्थित नागार्जुन फार्मेसीले औषधी नै उपलब्ध नभएको जानकारी गराएपछि आपूर्ति रोकिएको उनले बताए । उनले भने, 'क्यान्सर उपचारमा नियमित प्रयोग हुने अत्यावश्यक औषधी लामो समयदेखि उपलब्ध नहुँदा उपचारमा समस्या भएको छ ।'
अस्पतालका सूचना अधिकारी डा. प्रवीणकुमार गुप्ताका अनुसार औषधी अभावका कारण अधिकांश बिरामीको किमोथेरापीको काम प्रभावित भएको छ । उनले कार्बोप्लाटिन र सिसप्लाटिन क्यान्सर उपचारमा अत्यावश्यक औषधी भएकाले यसको आपूर्ति तत्काल सहज नभए उपचारमा थप जटिलता आउन सक्ने बताए ।
अस्पतालको फार्मेसी विभागका प्रमुख दिनेश नेपालीले पनि चार महिनादेखि काठमाडौँबाट औषधी नआएको बताए । उनले औषधी उपलब्ध गराउन आपूर्तिकर्ता नागार्जुन फार्मेसीलाई पटक पटक ताकिता गरिए पनि आपूर्ति हुन नसकेको जानकारी दिए ।
नागार्जुन फार्मेसीका सञ्चालक प्रेम जेठाराले भने औषधीको कच्चा पदार्थको मूल्य बढेपछि आयातकर्ताले आयात गर्न छाडेकाले आपूर्ति प्रभावित भएको बताए । उनका अनुसार इरान–अमेरिका युद्धको समयदेखि प्लाटिनम समूहका कच्चा पदार्थको मूल्य बढेको र त्यसको असर औषधीको उत्पादन लागतमा परेको छ ।
नेपालमा सरकारले औषधीको मूल्य समायोजन नगरेकाले आयातकर्ताले आयात गर्न बन्द गरेको उनको भनाइ छ । जेठाराले भारतलगायतका देशमा समेत कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढाइएको बताए ।
बाजुराबाट किमोथेरापीका लागि खजुरा आएका बिरामीका आफन्त मनोज थापाले अस्पतालमै औषधी नपाएपछि बाहिर खोज्नु परेको बताए । उनले भने, 'अस्पतालमा औषधी नपाएपछि भारतबाट समेत ल्याउनुपर्ने अवस्था आएको छ । यसले उपचार खर्चसँगै झन्झट पनि बढाएको छ ।'
चिकित्सकका अनुसार पाठेघर, स्तन, फोक्सो, मिर्गौला, मूत्राशय तथा पुरुष प्रजनन अङ्गसम्बन्धी क्यान्सरका बिरामीको उपचारमा किमोथेरापीका लागि यी औषधी प्रयोग हुने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार