दैलेख : बाँकेको कोहलपुरदेखि सुर्खेत हुँदै दैलेखको चुप्रासम्म विस्तार हुने १३२ केभी प्रसारण लाइन आयोजनाको काम तीव्र रूपमा अघि बढाइएको छ । पछिल्लो समय आयोजना अन्तर्गत दैलेखका विभिन्न क्षेत्रमा टावर निर्माण कार्य धमाधम भइरहेको हो ।
सुर्खेतको सुब्बाकुनादेखि दैलेखको चुप्रासम्म कुल १०१ वटा टावरमध्ये हालसम्म ७० वटा टावरको फाउन्डेसन निर्माण भइरहेको छ । जसमा २५ वटा टावर पूर्ण रूपमा निर्माणसम्पन्न भइसकेको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्रशासन प्रमुख युवराज विष्टले बताए । उनले दैलेख क्षेत्रमा रूख कटानसम्बन्धी निर्णय नेपाल सरकार मन्त्रीपरिषद्ले चाँडै निर्णय गरिदिए बाँकी काम समयमै सकिने अपेक्षा गरिएको जनाए ।
पछिल्लो समय स्थानीय विवाद समाधान हुँदै जाँदा सुर्खेत क्षेत्रमा जग्गा प्राप्तिका लागी काम शुरु भएको छ भने सुर्खेत, दैलेखतर्फ करिब ५० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । दैलेखमा १०१ वटा टावर निर्माणका लागि ४६ जना स्थानीयको छ हजार ९०२ वर्गमिटर जग्गा अधिग्रहणको जग्गा प्राप्तिको कार्य सम्पन्न गरिएको छ ।
कर्णालीका विभिन्न जिल्लामा हिउँदमा लो भोल्टेज र जेठ तथा बर्खायाममा हावाहुरी र वर्षाका कारण विद्युत् संरचनामा क्षति पुग्दा उपभोक्ताले गुणस्तरीय विद्युत् सेवा पाउन सकेका छैनन् । उक्त समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले यो प्रसारण लाइनलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।
पुराना तथा जीर्ण पोल, प्राकृतिक विपत्का कारण हुने क्षतिले विद्युत् वितरण प्रणाली अव्यवस्थित भइरहेका बेला १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि कर्णालीवासीले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ ।
करिब ८५ करोड रुपैयाँ लागतको यस आयोजनाअन्तर्गत सुर्खेतदेखि दैलेखसम्म ३२ किलोमिटर लामो प्रसारण लाइन निर्माणसँगै दैलेखको चुप्रामा सबस्टेसन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । दैलेख–सुर्खेत अन्तर्गत १०१ टावरमध्ये ५६ वटा दैलेखमा र सुर्खेतमा ४५ वटा टावर निर्माण गरिने छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार