बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट वार्षिक साढे तीन लाखभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले बिरामीलाई आकस्मिक सेवा उपलब्ध गराउन अबको दुई महिनाभित्रै आफ्नै ब्लड बैङ्क स्थापना गर्ने तयारी गरेको छ ।
यसै गरी मेमोग्राफी मेसिन सञ्चालन गरी स्तन क्यान्सरको स्क्रिनिङ सेवा दिने तथा पित्तथैलीको पत्थरीको अपरेसनका लागि पालो कुरेर बसिरहेका सेवाग्राहीका लागि छुट्टै प्याकेजको कार्यक्रम ल्याउने तयारीमा रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालले डिजिटल पेमेन्ट काउन्टरको सुरुवात गरिसकेको बताउँदै अब काउन्टरबाट सेवाग्राहीले डिजिटल माध्यमबाट टिकट काट्ने तथा भुक्तानी सेवा लिन सक्ने वताए । उनले प्रदेश सरकारमातहत गएपछि अस्पतालमा उल्लेख्य रूपमा परिवर्तन आएको बताउँदै विस्तारित अस्पताल सेवा कार्यक्रम प्रभावकारी भएको दाबी गर ।
यसै गरी अस्पतालले नाक, कान, घाँटीको उपचार कक्षमा अडियोग्राम, टिम्पानोग्राम र ओएई टेस्ट सेवाको सुरुवात गरेको छ । अस्पतालमा इकोकार्डियोलोजीतर्फ ट्रेडममिल टेस्ट (टिएमटी), हल्टर मनिटरिङ तथा एबिपिएम सेवाको शुभारम्भ गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवाग्राहीको चाप बढ्दै गएको अवस्थामा उपलब्ध संरचना तथा जनशक्ति धेरै कम भएकाले चुनौती बढ्दै गएको बताए ।
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा अस्पताल सेवा विस्तार कार्यक्रम अन्तर्गत प्रसूति सेवातर्फ छुट्टै अपरेसन थिएटर सञ्चालनमा आएको छ । अस्पतालका सर्जन विभाग प्रमुख डा. भुवन पौडेलले विशेष गरी पित्तथैलीको अप्रेशन तथा नाक, कान, घाँटीको अप्रेशन गर्नुपर्ने बिरामीको सङ्ख्या धेरै भएकाले अप्रेशन कक्ष थप गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवाग्राहीको सहजताका लागि प्रवेशद्वार थप गर्न माग गर्दै नेकपा (एमाले) बुटवल–९ ले गत सोमबार अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ । अस्पतालको पश्चिमतर्फ कालिका पथसँग जोडिएको स्थानबाट प्रवेशद्वार थप गर्न एमालेले माग गरेको हो ।
अस्पतालको पूर्वतर्फ मुख्य राजमार्गसँग जोडिएका दुई वटा गेटले मात्रै सेवा प्रदान गर्दा भिड व्यवस्थापनमा समेत समस्या हुने देखिएकाले पश्चिमतर्फ पनि प्रवेशद्वार बनाई सहज बनाउन माग गरिएको नेकपा (एमाले) बुटवल–९ का वडाध्यक्ष शेषकान्त बेल्बासेले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार