नेपालगञ्ज : दुई दिनसम्म परेको वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । इँटा व्यवसायी सङ्घ बाँकेका अनुसार जिल्लामा करिब ७० इँटा उद्योग सञ्चालनमा रहेकोमा सबै उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटा वर्षाले क्षति पुगेको छ ।
इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले मङ्गलबार र बुधबारको वर्षाका कारण बाँकेमा मात्रै करिब १० करोड रुपैयाँको नोक्सानी भएको जानकारी दिए ।
एउटा भट्टामा एक लाखदेखि १० लाखसम्म तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको अधिकारीको भनाइ छ । अधिकारीले भने, “बेमौसमी वर्षाले व्यवसायीको ठुलो नोक्सानी भएको छ, यसबाट भविष्यमा इँटा अभाव हुने देखिन्छ ।” व्यवसायीले बाँकेमा मात्रै दुई करोडभन्दा बढी इँटामा क्षति पुगेको दाबी गरेका छन् ।
पर्यावरणीय दृष्टिले माघ १ गतेपछि मात्रै इँटाभट्टा सञ्चालन हुने भएकाले अहिले इँटा पकाउन तयारी अवस्थामा रहेको समयमा बर्सात भएकाले थप क्षति भएको व्यवसायीले जनाएका छन् ।
काँचो इँटा सुकाएको अवस्थामा क्षति भएकाले व्यवसायीले फेरि काँचो इँटा बनाउनुपर्ने हुन्छ । इँटा बनाउन प्रयोग भएको जनशक्ति फेरि सोही काममा लगाउनुपर्ने भएकाले व्यवसायीले समग्र इँटा उत्पादनमै प्रभाव पर्ने बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार