कोहलपुर (बाँके) : बाँकेको कोहलपुरलाई क्रिकेटका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले पहिलो पटक यहाँ ‘कोहलपुर प्राइड लिग’ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ ।
फागुन २८ गतेदेखि चैत ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको कोहलपुर स्पोट्र्स एकेडेमीका सञ्चालक तथा प्रतियोगिता संयोजक विनायक गिरीले बताए ।
उनले कोहलपुरमा पहिलो पटक राष्ट्रिय स्तरको टी–२० प्रतियोगिता आयोजना हुन लागेकोले स्थानीय खेलाडी र खेलप्रेमी उत्साहित बनेको उल्लेख गर्दै यसबाट क्रिकेटको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
संयोजक गिरीका अनुसार प्रतियोगितामा देशका शीर्षस्तरका ६ वटा टोलीको सहभागिता रहनेछ । प्रत्येक टोलीमा कम्तीमा तीन जना राष्ट्रियस्तरका खेलाडी अनिवार्यरूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उनले प्रतियोगिताका सबै खेलको प्रत्यक्ष प्रसारण (लाइभ) गरिने तथा उच्चस्तरीय व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए ।
प्रतियोगिताका लागि हालै आधिकारिक ‘क्याम्पा’ ब्रान्डको लोगो सार्वजनिक गरिएको छ । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले लोगो सार्वजनिक गर्दै कोहलपुरमा पहिलो पटक राष्ट्रिय स्तरको टी–२० प्रतियोगिता हुन लागेकोमा खुशी व्यक्त गरे ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले कोहलपुरको क्रिकेट विकास गर्न तथा खेलकुदमार्फत कोहलपुरलाई चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले यस्ता प्रतियोगिताले खेलको विकाससँगै नयाँ प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताए ।
कोहलपुर प्राइड लिग राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता कोहलपुर–११ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार