Listen LIVE

बाँकेमा वार्षिक १० लाख क्युफिट काठ उत्पादन

नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले जिल्लामा लागु गरिएको दिगो वन व्यवस्थापनले गर्दा जिल्लामा वार्षिक १० लाख क्युफिट काठ र १८ सय चट्टा दाउरा उत्पादन हुने जनाएको छ । 

डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले वन सम्वर्धन प्रणालीअन्तर्गत जिल्लामा लागु गरिएको दिगो वन व्यवस्थापनले गर्दा जिल्लामा काठ र दाउरा उत्पादन बृद्धि भइ वार्षिक १० लाख क्युफिट काठ र १८ सय चट्टा दाउरा उत्पादन हुने बताए । 

उनले यसबाट जिल्लाको काठ र दाउराको माग तथा समस्या समाधान हुनुका साथै करिब दश हजार सर्वसाधारणले १२ महिनानै पूर्ण समयको रोजगारी पाउने पनि बताए । 

डिभिजन वन कार्यालय बाँकेका योजना शाखा प्रमुख एवं सहायक वन अधिकृत सुशिल सुवेदीले राप्तीसोनारी गाउँपालिकाको माथेवास–शम्शेरगञ्ज क्षेत्रमा एकमात्र चक्ला वन रहेकोेमा चालु आर्थिक वर्ष २०८२/८३ मा थप दुई चक्ला वन निर्माण गरिएको जानकारी दिए ।

यस वर्ष राप्तीसोनारी वडा नम्बर ३ र ४ मा भुवर भवानी र वडा नम्बर १ मा खर्चेताल चक्ला वन निर्माण गरिएसँगै बाँकेमा चक्ला वनको संख्या तीन पुगेको उहाँले बताउनुभयो । बाँकेमा सरकारी संरक्षित क्षेत्रबाहेक २४७ वन क्षेत्र रहेका छन् । तीमध्ये ११९ सामुदायिक, चार धार्मिक र १२४ निजी वन छन् । 

कूल एक लाख १९ हजार ९३९ हेक्टर वन क्षेत्रमध्ये ५२ प्रतिशत बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ भने बाँकी ४८ प्रतिशत डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्छ ।

प्रतिक्रिया