बर्दिया : करिब दुई वर्षदेखि बर्दियाको तारातालस्थित छोटी भन्सार कार्यालय दुई जना सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । ती दुई जना कार्यालय सहयोगी पालैपालो बिदा लिएर जाने गरेका छन् ।
कार्यालय सहयोगी हरिलाल उखेरा र हरिकृष्ण चौधरी करिब दुई वर्षदेखि त्यहाँ कार्यरत छन् । भारतीय सीमा निशानगाढाबाट सामान आउने गरे पनि करिब १ किलोमिटर टाढा रहेको ताराताल छोटी भन्सार कार्यालयका कारण राजस्व असुली भने न्यून छ । चालु आर्थिक वर्षमा वार्षिक लक्ष्य १५ लाख रुपैयाँ रहेको छ ।
कार्यालय सहयोगी चौधरीले जनशक्तिको अभावमा भन्सार छलेर सामान भित्र्याउँदा नियन्त्रण गर्न नसकेको बताए । सीमामा सशस्त्र प्रहरीले सामान जाँच गरी भन्सार कार्यालय पठाउने गरे पनि बाटोमै भन्सार छलिने हुँदा राजस्व लक्ष्यअनुसार उठ्न सकेको छैन ।
राजापुरस्थित मूल भन्सार कार्यालयका सूचना अधिकारी प्रमोदकुमार महतोले ताराताल छोटी भन्सारमा नायब सुब्बाको दरबन्दी रहेको बताए । उनका अनुसार नासु अनिता पुरी ताराताल भन्सारको दरबन्दीमा भए पनि गुलरिया भन्सार कार्यालयमा कार्यरत छन् । ’आवश्यक काम परेमा उनी खटिने गरेकी छन्,’ महतोले भने । ताराताल स्रोतले जनशक्ति व्यवस्थापन भएमा त्यहाँ वार्षिक झन्डै ५० लाख रुपैयाँभन्दा बढी राजस्व असुली गर्न सकिने दाबी गरेको छ ।
बर्दियामा सशस्त्र द्वन्द्वकालमा ६ वटा छोटी भन्सार कार्यालय रहेका थिए । तर ती पुनःस्थापना नहुँदा राजस्व असुली प्रभावित भएको छ । ती कार्यालय बन्द भएपछि सम्बन्धित नाकाबाट हुने आयात–निर्यातको राजस्व शून्य रहेको जनाइएको छ ।
जिल्लाको पूर्वी पडेरिया, गणेशपुर र पश्चिम छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगञ्ज नाकामा रहेका छोटी भन्सार कार्यालयहरू द्वन्द्वकालमा अन्यत्र स्थानान्तरण भई हालसम्म सञ्चालनमा आएका छैनन् । जमुनीस्थित पडेरिया र गणेशपुर नाका द्वन्द्वपछिका वर्षहरूमा पुनः सञ्चालनमा आएको थियो । तर जनशक्तिको अभाव देखाउँदै ती नाका फेरि बन्द गरिएको हो । दैनिक उपभोग्य खाद्यान्नसहित हार्डवेयर सामग्री भारतबाट आउने गरे पनि भन्सार नहुँदा राजस्व उठ्न सकेको छैन ।
सशस्त्र सीमा बल र नेपाल प्रहरीले सीमामा कडाइ गरेपछि तस्करी भने नियन्त्रणमा आएको छ । राजापुरस्थित मूल भन्सार कार्यालय द्वन्द्वकालदेखि सदरमुकाममा प्रमुख राखेर सञ्चालन हुँदै आएको छ । सो कार्यालय नासुबाट सञ्चालन हुँदै आएको छ । बर्दिया भन्सार कार्यालयमा हाल २२ जनाको दरबन्दी रहेको छ । जसअनुसार भन्सार अधिकृत १, नासु ८, लेखापाल १, चालक १ र कार्यालय सहयोगी ८ जना कार्यरत छन् ।
चालु आर्थिक वर्षको राजस्व असुली लक्ष्य २ करोड १४ लाख रुपैयाँ रहे पनि जेठ मसान्तसम्म २ करोड २६ लाख रुपैयाँ राजस्व असुली भइसकेको राजापुर भन्सार कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार