बर्दिया : गुलरिया नगरपालिका–९ कि ७० वर्षीया नन्की गोडिया झाडा पखाला नियन्त्रणमा नआएपछि बिहीबार जिल्ला अस्पताल, गुलरियाको इमरजेन्सी कक्षमा भर्ना भइन् । उनी जस्तै गुलरिया–६ कि शुशिला थारु पेट दुखेर बर्दिया अस्पतालको इमरजेन्सीमा भर्ना भइन् ।
गर्मीयाम शुरु भएपछि जिल्ला अस्पतालमा ज्वरो, झाडा पखाला, पेट र टाउको दुख्ने, मधुमेह, उक्त रक्तचाप लगायतका बिरामी उपचारका लागि आउनेको संख्या बढ्दै गएको छ । गर्मीयाम शुरु भएपछि बर्दिया अस्पतालको ओपीडी सेवामा सार्वजनिक बिदाका दिनबाहेक ५ सय जना बढी बिरामी उपचारका लागि आउने गरेको निमित्त सुपरिन्टेन्डेन्ट डाक्टर मनु दहितले बताए ।
सार्वजनिक बिदामा ओपीडी सेवा बन्द हुने गरेकोले पनि इमरजेन्सीमा भर्ना हुनेको संख्या बढदै गएको उनले जनाए । बुधबार मात्रै इमरजेन्सी सेवाका हेल्थ असिस्टेन्ट अजित चौधरीले पछिल्लो २४ घण्टामा ६४ जना बिरामी उपचारका लागि आएको बताए । इमरजेन्सी कक्षमा ७ वटा बेड भएकोले उपचारमा समस्या हुने गरेको उनले जनाए । कतिपय बिरामी कुरुवा घरमा राखेर उपचार भइरहेको र केही डिस्चार्ज भएका छन् ।
दिउँसो तातो हावा लु सँगै चर्को घामले मानिस बिरामी पर्न थालेपछि अस्पतालमा उपचार गर्न आउने संख्या बढेको निमित्त मेसु दहितले बताए । यसअघि करिब ३ सय बिरामी ओपीडी सेवामा उपचारका लागि आउने गरेका थिए । विशेष गरि लामो सार्वजनिक बिदाले पनि ओपीडी सेवा बन्द हुँदा बिरामीको चाप बढेको चिकित्सक बताउँछन् ।
गुलरिया नगरपालिका–३ सिरकोहियाका कमलेश सिंह गर्भवती भएकी श्रीमतीको नियमित स्वास्थ्य जाँच गर्न बिहीबार जिल्ला अस्पताल, बर्दिया पुगे । अस्पताल पुग्दा सरकारले सार्वजनिक बिदा दिएका कारण ओपीडी सेवा बन्द थियो । उपचार पनि भएन, घरबाट अटोरिक्सामा आउजाउ गर्दा ४ सय रुपैयाँ खर्च भएको उनले गुनासो पोखे । सार्वजनिक किदामा ओपीडी सञ्चालन नहुने जानकारी अधिकांश बिरामीलाई छैन । सार्वजनिक बिदाको पहिलो दिन सय जना बढी बिरामी उपचारका लागि आए पनि ओपीडी सेवा बन्द हुँदा रित्तै फर्केका छन् ।
मधुवन नगरपालिका–९ का मुटुका बिरामी जितबहादुर थारु ५ सय रुपैयाँ तिरेर अटो रिक्सा भाडामा लिएर जिल्ला अस्पताल पुगे । सार्वजनिक बिदामा ओपीडी पनि बन्द हुन्छ भन्ने उनलाई थाहा भएन । डाक्टरसँग थप उपचार गराउने र औषधि लिने भनेर आए तर दुःख मात्र पाएर फर्केको उनले बताए । सेवाग्राहीले सार्वजनिक बिदाका दिन पनि कम्तिमा २ घण्टा ओपीडी सञ्चालन माग गरेका छन् ।
गुलरिया–१० का मैकु लोधले बिरामीका लागि ओपीडी बिदाको दिन कम्तिमा २ घण्टा खुल्न जरुरी रहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार