Listen LIVE

कोरलाले बढायो रोजगारी र व्यवसाय

मुस्ताङ : उपल्लो मुस्ताङको ल्होमान्थाङ गाउँपालिका–१, छोसेरका नहर्बु दोर्जे एक सातादेखि निकै व्यस्त छन् । तिब्बतको ढोङ्वासेन हुँदै कोरला नाकामा भित्रिएका विद्युतीय गाडी (इभी) २४ नम्बरको सीमास्तम्भबाट नेचुङ भन्सारसम्म ल्याउन उनलाई भ्याइनभ्याइ छ । उनले प्रतिगाडी चार हजार रुपैयाँ लिने गरेका छन् । नहर्बुसँगै छोसेरका सोनम गुरुङको पनि यस्तै कामको राम्रो कमाइ छ । 

नेचुङ–लिजी भन्सारमा आयातनिर्यातकर्ताको इभी गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला, मूर्ति तथा तथा कस्मेटिक सामानसहित मालसामान बोकेका कन्टेनरबाट लोड अनलोड गरेबापत ल्होमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका स्थानीयले राम्रो कमाइ गर्न थालेका छन् । 

चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी नाका बाढीपहिरोका कारण पूर्णरूपमा ठप्प भएपछि वैकल्पिकरूपमा कोरला नाका प्रयोग भएपछि उपल्लो मुस्ताङका चालक तथा मजदुरी गर्नेलाई रोजगारी मिलेको ल्होमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए । 

उनले भने, “सिप अनुसारको रोजगारी मिलेको छ स्थानीयलाई, अहिले भ्याइनभ्याइ छ ।” अध्यक्ष गुरुङका अनुसार चिनियाँ कन्टेनरबाट सामान अनलोड गर्ने, नेपाली मालवाहक ट्र«कमा लोड गर्नेदेखि इभी गाडीलाई सोरुमसम्म लैजाने गरी स्थानीयले रोजगारी पाएका हुन् । 

कोरला नाकाबाट नेचुङ भन्सार कार्यालयसम्म करिब १४ किलोमिटरसम्म सामान ढुवानी गर्न स्थानीय ट्याक्टरसहितका सवारीसाधनसमेत नेपाली व्यवसायीले भाडामा लिएका छन् । कोरला नाका र नेचुङ भन्सार कार्यालयमा करिब ८० देखि एक सय जनाले अस्थायी रोजगारी पाएका छन् । मजदुरले दैनिक पाँच हजार र चालकले १५ हजार रुपैयाँ कमाउँछन् ।

नाकामा धमाधम सामान आउन थालेपछि पर्यटन र पशुपालनबाहेक कृषि तथा निर्माण क्षेत्रमा काम गर्नेलाई सहज भएको ल्होमान्थाङ–२, छोसेरका वडाध्यक्ष कर्म नाम्ङग्याल गुरुङले बताए । वडाध्यक्ष गुरुङले नियमित नाका सञ्चालनमा आएमा स्थानीयले रोजगारी पाउने तथा वैदेशिक रोजगारीका लागि पलायन हुनुपर्ने बाध्यतासमेत अन्त्य हुने बताए ।

अहिले मुस्ताङमा मजदुरी गर्न तल्लो मुस्ताङमा गएका अन्य जिल्लाका मजदुरसमेत उपल्लो मुस्ताङ पुग्न थालेका छन् । चीनको सिगात्से हुँदै चिनियाँ विद्युतीय सवारीसाधन भित्रिन थालेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङमा पहिलो पटक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन उपल्लो मुस्ताङसहित तल्लो क्षेत्रमा समेत थप फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । 

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले रसुवा र तातोपानी नाकासरह कोरला नाका सञ्चालनमा ल्याउन सकिने अहिलेको आयातनिर्यातले पुष्टि गरेको बताउँदै अब भन्सार क्षेत्रमा आवश्यक संरचना तथा सडकखण्डलाई थप व्यवस्थित गर्नुपर्ने बताए । 

२०८० कात्तिक २७ देखि औपचारिक उदघाटन गरी खुला गरिएको नाकालाई नेपाल सरकारले प्राथमिकतामा राख्न सकेमा चीनसँग जोडिएको सबैभन्दा उपयुक्त नाका बनाउन सकिने अध्यक्ष विष्टको भनाइ छ । 

मुस्ताङ भन्सार कार्यालयले समान आयातबाट तीन दिनमा मात्रै नौ करोड ७० लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख रमेश खड्काले बताए । चिनियाँ भन्सारबाट आएका सबै सामान जाँचपास भएर जाँदा राजस्व बढ्ने छ ।

प्रतिक्रिया