नेपालगञ्ज : बाँकेको कोहलपुर–११ का सन्तोष पौडेलले सात वर्षअघि एक लाखको लगानीमा सुरु गरेका उद्योगको लगानी हाल ५० लाख रुपैयाँ पुगेको छ ।
दुग्ध विकास संस्थान कोहलपुरमा प्राविधिकका रूपमा काम गर्दैगर्दा २०७४ सालमा एक लाख रुपैयाँको लगानीमा कोहलपुर–१० मा ए वन डेरी सञ्चालन गरेका पौडेलको डेरीको लगानी पुँजी अहिले ५० लाख पुगेको छ ।
दुध र दुग्धजन्य पदार्थको माग बढ्दै जाँदा आम्दानी पनि बढ्दै गएकाले लगानी तीव्र रूपमा वृद्धि भई ५० लाख पुगेको पौडेलले बताए । उनका आफ्नै तीन वटा ‘चिलिङभ्याट’ पनि छन् । फ्याट निकाल्ने मेसिनदेखि दुध चिस्याउने र तताउने मेसिनसमेत उनीसँग छ ।
अहिले पौडेलको डेरी उद्योगबाट उत्पादित मोहीले कोहलपुरमा अन्य चिसो पेय पदार्थलाई विस्थापित गरिसकेको छ । प्रायः सबै ठाउँ, कार्यक्रम र सभा समारोहमा अन्य चिसो पदार्थको विकल्पका रूपमा मोहीको प्रयोग हुन थालेको छ ।
“दुधको माग उच्च छ तर पर्याप्त मात्रामा पाउन नसक्दा दुधबाट बन्ने सबै वस्तुको उत्पादन माग अनुसारको आपूर्ति गर्न सकिएको छैन,” पौडेलले भने । आफ्नो उद्योगका लागि बर्दियाको लक्ष्मना, भुरीगाउँ, बाँकेको नरैनापुर, ढकेरी र कम्दीबाट समेत दुध आउने गरेको उनले बताए ।
नेपाल डेरी एसोसिएसन बाँकेका महासचिवसमेत रहनुभएका सन्तोषको यो पेसाले अन्य चार जनालाई रोजगारीसमेत दिएको छ भने मासिक खर्च कटाएर ८० हजार रुपैयाँसम्म बचत हुने गरेको छ ।